काठमाण्डौ – पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि शुरु भएको छ । सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।
सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।
मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।
यसैबीच आउँदो मङ्सिर २३ गतेदेखि जनकपुरधाममा शुरु हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ । महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई बैठकले प्राथमिकता दिएको छ ।