काठमाडौँ - नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) डा मनोजकुमार केसीले प्रहरी कर्मचारीका गुनासा तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आइजीपी केसीले डेस्कको औपचारिक उद्घाटन गरे। उनले नेपाल प्रहरीको सियुजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारामको लिङ्क पठाएका थिए। साथै, एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासोसमेत सुने।
प्रहरी सङ्गठनको आधारस्तम्भका रूपमा रहेका तल्लो तहका कर्मचारीहरूको पेशागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउने उद्देश्यले डेस्क स्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ।
कार्यक्षेत्रमा कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्य गुनासालाई सहज र प्रभावकारी रूपमा सम्बोधन गर्न डेस्कले काम गर्नेछ।
आइजीपी केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर छिटो र प्रभावकारी रूपमा समस्या समाधान गर्ने उद्देश्यले डेस्क स्थापना गरिएको बताए।
उनले आधारभूत तहका प्रहरी कर्मचारी सङ्गठनको महत्त्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने प्रहरीको वास्तविक अनुहार उनीहरू नै भएको बताए।