एसिया कपका खेलहरूलाई २ चरणमा विभाजन गरेर खेलाउनेमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान राजी

भारत र पाकिस्तानको असहज राजनीतिक सम्बन्धको असर यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट अन्यौलमा परेको छ

एसिया कपका खेलहरूलाई २ चरणमा विभाजन गरेर खेलाउनेमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान राजी

काठमाडौँ । भारत र पाकिस्तानको असहज राजनीतिक सम्बन्धको असर यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट अन्यौलमा परेको छ । एसिया कपको विषयलाई लिएर भारत र पाकिस्तान आ आफ्नो अडानमा कायम छन् ।

सहभागी अन्य राष्ट्र भने मूक दर्शक बनेका छन् । पछिल्लो समाचार अनुसार, पाकिस्तानको नयाँ ‘हाइब्रिड मोडेल’प्रति श्रीलङ्का क्रिकेट बोर्ड र बङ्गलादेश क्रिकेट बोर्ड सकारात्मक देखिएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष नजाम सेठीको निरन्तरको प्रयासपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक बनेका हुन् ।

पीसीबीले २ वटा विकल्पसहितको नयाँ ‘हाइब्रिड मोडेल’ एसीसीमा पेश गरेको छ । पीसीबीको पहिलो प्रस्तावमा एसिया कपका सबै खेल पाकिस्तानमै खेलाउने तर, भारतको खेल भने कुनै ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख गरिएको छ ।

यसैगरी दोस्रो प्रस्तावमा भने एसिया कपका खेलहरूलाई २ चरणमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । पहिलो चरणमा भारतबाहेकका खेलहरू पाकिस्तानमा खेलाउने र दोस्रो चरणमा भारतका खेलहरू ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख छ । पीसीबीको दोस्रो प्रस्तावमा एसिया कपको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेलाउने उल्लेख गरिएको छ ।

एसीसीका अध्यक्ष जय शाहले पनि पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ लाई बैठकमा प्रस्तुत गर्ने आश्वासन दिएका छन् । शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव पनि हुन् । तर, बीसीसीआई भने सम्पूर्ण प्रतियोगिता नै पाकिस्तानबाट अन्यत्र सारिनु पर्ने पक्षमा देखिन्छ ।

यसअघि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडेल’लाई भने बीसीसीआईले अस्वीकार गरेको थियो । बीसीसीआईले प्रतियोगिताका सम्पूर्ण खेल अन्यत्र सारिनु पर्ने अडान लिएको थियो । श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान पनि प्रतियोगिता आयोजना गर्न इच्छुक देखिएको थियो ।

तर, पीसीबी अध्यक्ष सेठीको निरन्तरको दौडधुपपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक देखिएका हुन् । यस विषयमा अफगानिस्तानको आधिकारिक धारणा भने आइसकेको छैन । तर, पीसीबी भने अफगानिस्तानको पनि समर्थन पाउनेमा विश्वस्त देखिन्छ ।

यस विषयमा छलफल गर्न यसै साता एसीसीको बैठक बस्दैछ । बैठकमा पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’को विषयमा छलफल हुनेछ । आगामी एसिया कपमा नेपाल पनि सहभागी हुँदैन । नेपालका अतिरिक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

खबरपाटी
खबरपाटी