
काठमाडौं । खेलमा नेपालले बलियो पकड बनाएको बेला खेल रोकिँदा नेपाललाई फाइदा भयो कि घाटा भन्ने चासो सबत्र बढेको छ । फाइदा हो कि घाटा बुझ्नका लागि एसीसीले विजेता घोषणासम्मका लागि बनाएको नियम हेर्नुपर्छ ।
एसीसीले फाइनल खेलका लागि रिजर्भ डेको व्यवस्था गरेकाले सोमबार खेल पूरा हुन नसके सोमबार जुन अवस्थामा खेल रोकिएको हो त्यसै अवस्थाबाट मंगलबार खेल हुनेछ । यसअनुसार अब आज खेल हुन नसके भोलि यूएईले २७ ओभर ३ बलमा ९ विकेटमा १०६ रन बनाएको अवस्थाबाट फेरि खेल्न सुरु गर्नेछ । त्यसपछि उसले दिने लक्ष्य पछ्याउन नेपालले ब्याटिङ गर्नेछ ।
तर, काठमाडौंको मौसम भोलि पनि सुधार हुने पूर्वानुमान छैन । भोलि पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । त्यसैले भोलि सुपर ओभरका लागि समय बचे सुपर ओभरबाट विजेताको निर्णय हुनेछ । यदि खेल सुपर ओभरमा गए सोमबार नेपाली बलरले गरेको घातक बलिङ खेर जानेछ ।
सुपर ओभर हुँदा यूएई र नेपालले समान अवसर पाउन सक्छन् । एक ओभरको सुपर ओभरमा जे पनि हुन सक्छ । यदि पहिलो सुपर ओभरमा नतिजा नआए दोस्रो सुपर ओभर हुनेछ ।
तर, यसपछि पनि खेलको नतिजा आउन नसके आईसीसी वरीयताका आधारमा विजेता घोषणा गरिनेछ । यस्तो बेला भने नेपाललाई फाइदा हुनेछ । किनकी नेपाल हाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा १४ औंँ स्थानमा छ, जबकि यूएई १९ औँ स्थानमा ।