काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई युक्रेनलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग बन्द गर्न आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।
बेलायती सञ्चारमाध्यम ‘द इन्डिपेन्डेन्ट’का अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताको केही घण्टापछि ट्रम्पले बिहीबार युरोपेली नेताहरूलाई टेलिफोन गरी यस्तो आग्रह गरेका हुन् ।
टेलिफोन संवादका क्रममा ट्रम्पले रुस शान्ति सम्झौताका लागि तयार रहेको बताएका थिए । युद्ध अन्त्य भए युरोपेली देशहरूको अर्बौँ डलर खर्च जोगिने र मानवीय क्षतिसमेत रोकिने उनको तर्क थियो ।
यद्यपि, अमेरिकी अधिकारीहरूले ट्रम्पले युक्रेनलाई दिइने सहयोग बन्द गर्न सिधा दबाब वा आदेश दिएको भन्ने विवरणलाई अस्वीकार गरेका छन् । उनीहरूका अनुसार, चीनको सेन्जेनमा पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको त्रिपक्षीय बैठकपछि ट्रम्पले युरोपेली नेताहरूसँग संवाद गरेका थिए ।
करिब ९० मिनेट चलेको उक्त बैठकमा ट्रम्पले पुटिनलाई सार्वजनिक रूपमै ‘मेरो साथी’ भनेर सम्बोधन गरेका थिए भने चिनियाँ राष्ट्रपति सीले पनि ट्रम्पलाई न्यानो स्वागत गर्दै अँगालो हालेका थिए ।
सेन्जेन बैठकमा युरोपेली देशहरूलाई सहभागी गराइएको थिएन । सोही समयमा युरोपेली नेताहरू युक्रेनप्रति ऐक्यबद्धता जनाउन जर्मनीको बर्लिनमा भेला भएका थिए । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले सेन्जेन बैठकले पुटिनको मनोबल थप बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी थिइन् ।
उता, बर्लिन बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसमेत सहभागी थिए । कुशनरले आगामी शान्ति वार्तामा युक्रेन, रुस, अमेरिका र युरोपका प्रतिनिधिहरू एकै ठाउँमा बस्ने जानकारी दिए ।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्तावित सुरक्षा प्रत्याभूतिको स्वरूपबारे प्रश्न उठाएका छन् । विशेषगरी शान्ति सम्झौताअन्तर्गत अन्य देशका सैनिक युक्रेनमा तैनाथ हुने वा नहुने भन्नेबारे उनले स्पष्टता मागेका छन् ।
यसैबीच, सेन्जेन बैठकलगत्तै रुसी राष्ट्रपति पुटिनले क्रिमिया पुलमा भएको पछिल्लो आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले अब सम्झौताका लागि तत्काल कुनै सहमति नहुने र रुसको जवाफी कारबाही युक्रेनको आक्रमणभन्दा कैयौँ गुणा भयानक हुने बताएका छन् ।
युक्रेनी सेनाले यसै साता रणनीतिक रूपमा महत्त्वपूर्ण क्रिमिया पुलमा तेस्रोपटक आक्रमण गरेको पुष्टि गरेको थियो । युरोपकै सबैभन्दा लामो सडक तथा रेल पुलमध्ये एक मानिने उक्त संरचना रुसका लागि निकै संवेदनशील छ ।
पुटिनले युक्रेनमा युरोपेली सैनिक तैनाथ गर्ने सम्भावनाप्रति कडा आपत्ति जनाउँदै युद्ध अन्त्यका लागि युक्रेन र युरोपेली देशहरू आवश्यक लचकता अपनाउन तयार नरहेको आरोपसमेत लगाएका छन् ।