काठमाडौं । डा. प्रकाश शरण महतले प्रधानमन्त्री प्रचण्डको पुनगठित सकारमा नयाँ अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्मालेका डा. महत नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य हुन् ।
५ नोभेम्बर १९५९ मा नेपालको नुवाकोट जिल्लामा जन्मिएका डा. महतको तीन दशकभन्दा बढीको सक्रिय राजनीति जिवन बिताएका छन् । उनी लोकतान्त्रिक आन्दोलन, द्वन्द्व समाधान र देशको शान्ति प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै समावेशी आर्थिक विकासको एजेण्डालाई अगाडि बढाउन तत्पर छन् ।
प्रकाशशरण महत नेपालका पूर्व परराष्ट्रमन्त्री पनि हुन् । सन् २००२ देखि महत नेपालको प्रमुख लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा कार्यरत छन् । उनले सन् १९७० देखि विद्यार्थी राजनीतिमा सक्रिय भएर आफ्नो राजनीतिक जीवनको सुरुवात गरेका थिए । उनले सन् १९८३ देखि १९८७ सम्म नेपाल विद्यार्थी संघको महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी सन् १९९० को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट कार्य समितिको सदस्य थिए भने सन् १९९८ देखि १९९९ सम्म नेपाली कांग्रेसमा केन्द्रीय आर्थिक नीति समितिको सदस्यको रूपमा पनि काम गरेका थिए ।
महतले विभिन्न अवधिमा नेपालको व्यवस्थापिका र कार्यपालिकामा विभिन्न पदमा रहेर काम गरेका छन् । उनी सन् २००६ देखि २००८ सम्म अन्तरिम व्यवस्थापिका संसदको सदस्य थिए । उनी सन् २००८ देखि मे २०१२ सम्म पहिलो संविधानसभाको सदस्य थिए र नोभेम्बर २०१३ देखि दोस्रो संविधानसभाको सदस्य पनि थिए।
२०७२ अर्थात सेप्टेम्बर २०१५ मा नेपालको संविधान जारी भएपछि व्यवस्थापिका–संसदमा परिणत भएको दोस्रो संविधानसभाको संविधान मस्यौदा समितिको सदस्यका रूपमा उनले संविधान मस्यौदा प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए । राज्य व्यवस्था समिति र विशेष संसदीय सुनुवाइ समितिलगायत विभिन्न संसदीय समितिहरूमा
महत २०१० देखि २०११ सम्म उर्जामन्त्री थिए । उनी जुन २००४ देखि २००५ फेब्रुअरीसम्म परराष्ट्रमन्त्री थिए । उनी सन् २००२ अप्रिलदेखि अक्टोबर २००२ सम्म राष्ट्रिय योजना आयोगको सदस्य र नेपालका प्रधानमन्त्रीका सल्लाहकार पनि थिए ।
उनी माओवादी विद्रोहको समाधानका लागि नेपाल सरकारले सन् १९९९ मा गठित उच्चस्तरीय समितिको सदस्य सचिव थिए । त्यसैगरी सन् २००६ देखि जुन २००७ सम्म उनले वार्ता सहजीकरण र शान्ति सम्झौताको तयारीमा सरकारलाई सहयोग गर्न गठन गरिएको राष्ट्रिय शान्ति समितिको सदस्यको रूपमा काम गरे। उनलाई सन् २००७ को अगस्टदेखि जुन २००८ सम्म सरकारी वार्ता टोलीको सदस्यका रूपमा नेपालका विभिन्न आन्दोलनकारी समूहसँग वार्ता गर्ने जिम्मेवारी पनि दिइएको थियो ।
अमेरिकाको इलिनोइसको कर्बोन्डेलमा रहेको दक्षिणी इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–चेम्पेनबाट नीति अर्थशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
आर्थिक विकास, शान्ति प्रक्रिया र समसामयिक राजनीतिक विकासका लागि नीति पत्र, अनुसन्धान विश्लेषण र पत्रपत्रिकामा लेखहरू लेखेर शैक्षिक क्षेत्रमा सक्रिय छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरिसकेका डा।महतका आर्थिक विकास, शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा। महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ” नामक पुस्तक पनि लेखेका छन् ।