संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
यूएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार मध्यरात हुनुअघि फुजैराह इमिरेट्सको प्रवेशद्वारमा दुर्घटना भएको हो । तीव्र गतिमा रहेको ट्रकका चालकले नियन्त्रण गुमाउँदा अर्को ट्रकसँग ठोक्किएको र त्यसपछि दुवै ट्रक सडकबाट बाहिरिएर रोकिएका अरु गाडीमा ठोक्किएका थिए ।
दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी २३ वटा गाडी आपसमा ठोक्किएका हुन । दुर्घटनापछि ट्रकमा आगलागी भएको र आगो अरु गाडीमा समेत फैलिएको समाचार संस्था अलजजिराले जनाएको छ ।
ज्यान गुमाउनेमा यूएईसहित विभिन्न देशका नागरिक रहेका खबरमा उल्लेख छ । मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ । घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन् ।