मन्त्री चौधरीको पहलमा ६७ करोड ५० लाखको धान खरिद गरिने

मन्त्री चौधरीको पहलमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं - कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने भएको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि बढाइएको हो।

धान खरिद प्रक्रियालाई अघि बढाउन मन्त्री चौधरीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिरहनुभएको छ। धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेकाले उहाँले सम्बन्धित निकायलाई प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा ल्याउन मन्त्री चौधरीले सम्बन्धित निकायसँग नियमित समन्वय गरिरहनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजनाअनुसार धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने तयारी छ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढेपछि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने अपेक्षा गरिएको मन्त्री चौधरीले बताउनुभएको छ। यसबाट किसानलाई उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

खबरपाटी
खबरपाटी