काठमाण्डौ – पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाण्डौले आज अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी हिजो अर्याललाई काठमाण्डौ ल्याएको थियो । सीआईबीले आज अर्यालमाथि अनुसन्धानका लागि समय माग गर्दै जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अर्यालविरुद्ध ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ । मलेशिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरीत गैरकानूनी रूपमा सङ्कलन गरिएको रकम मलेशिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ ।
यस प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानून अधिकृत एवम् उपसचिव निर्मला गुरुङ पक्राउ परिसकेका छन् ।