काठमाडौं । बुढीगण्डकी तथा सहायक नदी स्यार खोलामा आएको बाढीका कारण गोरखाका विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आज रातिसम्म आरूघाटका बाँकी क्षेत्रमा विद्युत् लाइन चार्ज गर्ने प्रयास भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणको आरूघाट वितरण केन्द्रका अनुसार आरूघाट गाउँपालिका–३ अन्तर्गत केउरपानी र ढुंगेमा थप दुईवटा ट्रान्सफर्मर चार्ज गर्ने अन्तिम तयारी भइरहेको छ। हाल सोही वडाका सोती, लिदिङ र स्यामराङका तीनवटा ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ। अन्य क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।
विद्युत् मर्मतका लागि कर्मचारीहरू बिहानै कार्यस्थलमा पुगे पनि सडक दिउँसो ३ बजे मात्रै खुलेका कारण काममा ढिलाइ भएको वितरण केन्द्रले जनाएको छ। सडक पहुँच सहज हुँदै जाँदा अवरुद्ध लाइन मर्मत गरी क्रमशः विद्युत् सेवा सञ्चालन गरिने केन्द्रको भनाइ छ।
बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। बाढीले बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र पुलमा क्षति पुर्याएको छ।
त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ। सोती, आर्खेत तथा आरूघाट बजार क्षेत्रमा पनि वितरण लाइनका पोलहरूमा क्षति भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा न्यून भोल्टेजका छवटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएलगत्तै नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम सुरु गरेको थियो। करिब १० घण्टामै भीमसेन थापा गाउँपालिकाका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो। यसैगरी, आरूघाट बजारसहित आरूघाट गाउँपालिकाका डाँडागाउँ र आरूपोखरी शाखामा पनि विद्युत् सेवा सञ्चालनमा आइसकेको छ।
मन्त्रालयले यसै हप्ताभित्र बाढी प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित मर्मत तथा पुनःस्थापनाको काम अघि बढिरहेको जनाएको छ।