काठमाडौँ – पितृपक्ष अर्थात् सोह्र श्राद्ध शनिवार पूरा हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदामा शुरु भई औँसीसम्म सम्पन्न हुन्छ।
वैदिक सनातन धर्मावलम्बीले प्रतिपदादेखि औँसीसम्मका एक तिथिमा आफ्ना पितृको श्राद्ध गर्छन्। प्रतिपदादेखि औँसीसम्मका १५ तिथि र पूर्णिमा तिथिको गरी १६ तिथिलाई आधार मानेर श्राद्ध गरिने भएकाले यसलाई १६ श्राद्ध भनिएको बताइन्छ ।
आफ्ना पिता दिवंगत भएको तिथिलाई आधार मानेर गरिने यो श्राद्धमा घरतर्फका तीन पुस्ता र मावलीतर्फका तीन पुस्ताको सम्झना गरिन्छ। अर्थात् उनीहरूलाई पिण्ड दिइन्छ। कतिपयले तीन–तीन पुस्ताका दम्पतीलाई गरी ६ वटा पिण्ड दिन्छन् भने कतिपयले प्रत्येकलाई एक–एक गरी १२ पिण्ड दिएर श्राद्ध गर्छन्।
पितृकर्मलाई औँसी तिथि विशेष मानिन्छ। सोह्रश्राद्धमा पनि औँसीलाई महत्त्व दिइन्छ। अरु तिथिमा रोकिएको श्राद्ध पनि यसै दिन गरिन्छ। पूर्णिमा तिथिमा दिवंगत भएकाको श्राद्ध पनि यसै तिथिमा गरिन्छ।
सोह्र श्राद्ध सकिने दिन पवित्र तीर्थस्थल तथा नदी किनारमा श्राद्ध तर्पण गर्नेको घुइँचो लागेको छ।
सोह्रश्राद्ध सकिएको भोलिपल्ट आश्विन शुक्ल प्रतिपदामा नवरात्र (बडादशैँ) शुरु हुन्छ।