६ हजारभन्दा धेरै वडामा कांग्रेस अधिवेशन सकियो

६ हजारभन्दा धेरै वडामा कांग्रेस अधिवेशन सकियो

काठमाण्डौ – नेपाली कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकेको छ । हिजो र अस्ति दुई दिनमा धेरै वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
आन्तरिक विवाद, सदस्यतासम्बन्धी समस्या र बाढी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ । बाढी प्रभावित रसुवाका बाहेक सबै वडामा भोलिसम्म सबै वडाका अधिवेशन सकिने निर्वाचन समितिले जनाएको छ ।
बाढी प्रभावित नुवाकोट र धादिङमा आजदेखि वडा अधिवेशन गर्ने तयारी छ । सप्तरीका २ र ४, मोरङको ६, रौतहटको १, सर्लाहीका २ र नवलपरासी–२ निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यतासम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन ।
वडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ । वडा अधिवेशनले वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचन गर्छ । क्षेत्रीय प्रतिनिधि मतदाता हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन्छ । तिनै महाधिवेशन प्रतिनिधि नै केन्द्रीय अधिवेशनका मतदाता हुन्छन् ।
वडा अधिवेशनमा सहभागी नहुनेहरू केन्द्रीय महाधिवेशनमा मतदाता हुन नसक्ने विधानको व्यवस्थाका कारण वडा अधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरूले यही १६ गतेदेखि शुरू हुने केन्द्रीय महाधिवेशनमा भाग लिने सम्भावना कम बन्दै गएको छ ।
यस पटक संशोधित विधानले केन्द्रीय सभापतिसहित सबै पदाधिकारी र सदस्यसमेत वडा तहको निर्वाचन प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बनेर आउनुपर्ने व्यवस्था गरेको छ । पूर्वसभापति देउवा पक्षले भने समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ ।
 

खबरपाटी
खबरपाटी