मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने

मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने

काठमाडौं – नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा नयाँ नोट जारी गर्न लागिएको जनाएको छ ।

नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ ।

यस नयाँ नोटको संकेत नम्बर ट/२४ ०००००१ देखि ण/३० ९९९९९९ सम्म रहेको छ । यसअघि २०७७ साल असार २२ गतेको सूचना अनुसार ५० रुपैयाँ दर (सिरिज २०१९) को बैंक नोट संकेत नम्बर ज/५९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनिएकोमा, उक्त सिरिजका संकेत नम्बर ज/५९ ०००००१ देखि ट/३३ ९००००० सम्म मात्र प्रचलनमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौँ’ भन्ने सन्देशसहित सर्वसाधारणलाई नोटको जतन गरी प्रयोग गर्न आग्रह गरेको छ ।

५० दरको नोटको विशेषता

नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । सोको मुनि ५० अंकित छाप समेत रहेको छ ।

तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ ।

नोटमा १.२ मि.मी. चौडा भएको कागजमा बुनिएको सुरक्षा धागो रहेको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिन्छ र उक्त धागोमा अंग्रेजीमा एनआरबी लेखिएको छ ।

नोटको मध्य खण्डमा हिउँ चितुवाको चित्र राखिएको छ । सोको माथि अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।

नोटको तल्लो खण्डमा अंग्रेजीमा रुपिज फिप्टी र सिरिज नम्बर २०२५ एडी उल्लेख गरिएको छ ।

 

खबरपाटी
खबरपाटी