काठमाण्डौ — अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्र नेपालीसहित अरु भाषामा समेत एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।
केन्द्रीय चलचित्र जाँच समितिले सार्वजनिक प्रदर्शनका लागि चलचित्रलाई जाँचपास प्रमाणपत्र दिँदै ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। जसअनुसार १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र चलचित्र हेर्न पाउनेछन्।
क्राइम थ्रिलर विधामा बनेको ‘मास्टर्नी’ दुई घण्टा तीन मिनेट लामो छ। प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।
चलचित्रको छायांकन युवराज इन्दोरियाले, सम्पादन राजा सिंह सिदुले तथा संगीत रोहित शाक्यले गरेका छन्। चलचित्र प्रदर्शनअघि सार्वजनिक गरिएको यसको प्रमोसनल गीत भने विवादमा परेको थियो।