काठमाडौं - विश्व उद्यमशीलता दिवसका अवसरमा युथ इनोभेसन ल्याब (YI-Lab) ले युवा उद्यमी, विद्यार्थी, नवप्रवर्तक तथा प्रविधिमा रुचि राख्ने युवालाई लक्षित गर्दै बालुवाटारस्थित कार्यालयमा ‘ओपन हाउस तथा उद्यमशीलता हाटबजार’ आयोजना गरेको छ।
कार्यक्रममा करिब एक सय आगन्तुकले युवा उद्यमीका उत्पादन, युथ इनोभेसन ल्याबले विकास तथा प्रयोग गरिरहेका प्रविधि, GIS तथा डिजिटल समाधान, नवीन Artificial Intelligence (AI) मोडल, Heat तथा Air Pollution Sensor लगायतका प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए।
औपचारिक प्रदर्शनीभन्दा प्रत्यक्ष संवाद, अनुभव आदानप्रदान र नेटवर्किङमा केन्द्रित कार्यक्रमका रूपमा आयोजना गरिएको ओपन हाउसमा सहभागीले उद्यमीसँग प्रत्यक्ष कुराकानी गर्नुका साथै प्रविधिको प्रयोग र सामाजिक तथा वातावरणीय समस्या समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिएका थिए।
युवा उद्यमीलाई बजार परीक्षणको अवसर
हाटबजारमा व्यवसायको सुरुवाती चरणमा रहेका युवा उद्यमीले आफ्ना उत्पादन तथा सेवाको निःशुल्क प्रदर्शन, प्रवर्द्धन तथा उपभोक्ता प्रतिक्रिया संकलन गरेका थिए।
कार्यक्रममा कफी, हस्तकला, खाद्य तथा रेस्टुरेन्ट सेवा, हर्बल तथा स्थानीय उत्पादनलगायत क्षेत्रमा सक्रिय उद्यमीले स्टल सञ्चालन गरेका थिए। उनीहरूले आफ्ना उत्पादनको कथा, उत्पादन प्रक्रिया, बजार विस्तारका क्रममा भोगेका चुनौती तथा आगामी सम्भावनाबारे आगन्तुकसँग प्रत्यक्ष संवाद गरेका थिए।
आगन्तुकबाट प्राप्त प्रतिक्रियाले युवा उद्यमीलाई उत्पादन सुधार, ग्राहकको रुचि बुझ्न तथा आगामी बजारीकरण रणनीति बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
GIS देखि AI मोडलसम्म प्रदर्शन
ओपन हाउसको अर्को आकर्षण युथ इनोभेसन ल्याबले प्रविधि, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा सामाजिक समस्या समाधानका क्षेत्रमा विकास गरिरहेका डेटा तथा प्रविधिमा आधारित समाधानको प्रदर्शन थियो।
कार्यक्रममा GIS तथा interactive maps, data visualization, digital platforms तथा अन्य geospatial works प्रस्तुत गरिएको थियो। साथै ल्याबले विकास तथा परीक्षण गरिरहेका AI आधारित मोडल तथा उपकरणबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।
AI प्रविधिले तथ्यांक विश्लेषण, जोखिम पहिचान, निर्णय प्रक्रियामा सहयोग तथा सामाजिक र वातावरणीय चुनौती समाधानमा कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा प्राविधिक टोलीले सहभागीलाई जानकारी दिएको थियो।
Heat र Air Pollution Sensor मुख्य आकर्षण
कार्यक्रममा युथ इनोभेसन ल्याबमै विकास गरिएका Heat Sensor तथा Air Pollution Sensor समेत प्रदर्शन गरिएको थियो।
बढ्दो तापक्रम, अत्यधिक गर्मी तथा वायु प्रदूषणजस्ता शहरी र वातावरणीय चुनौतीलाई स्थानीयस्तरमा मापन तथा निगरानी गर्न यी उपकरण विकास गरिएको आयोजकले जनाएको छ। सेन्सरबाट संकलित तथ्यांकलाई नीति निर्माण, अनुसन्धान तथा समुदायस्तरको निर्णय प्रक्रियामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।
यसै क्रममा बढ्दो गर्मीको जोखिम बुझ्न र समाधान विकास गर्न AI तथा तथ्यांकको प्रयोगमा केन्द्रित ‘Heat AI’ पहलका बारेमा समेत जानकारी दिइएको थियो।
युवालाई उद्यमशीलता र नवप्रवर्तनका अवसर
ओपन हाउसलाई प्रविधि प्रदर्शनमा मात्र सीमित नराखी युवाका लागि उपलब्ध उद्यमशीलता कार्यक्रम, bootcamp, hackathon तथा fellowship अवसरबारे पनि जानकारी दिइएको थियो।
युथ इनोभेसन ल्याबले Entrepreneurship Program मार्फत व्यावसायिक अवधारणा विकास, prototype, market validation, mentorship तथा उद्यम विस्तारमा सहयोग गर्दै आएको जनाएको छ।
त्यस्तै, Bootcamp र Hackathon मार्फत वास्तविक सामाजिक तथा वातावरणीय समस्या पहिचान गरी समाधान, prototype तथा प्रविधिमा आधारित नयाँ अवधारणा विकास गर्ने अवसर उपलब्ध गराउँदै आएको छ।
Fellowship अन्तर्गत Disaster Risk Reduction and Management, Climate Change and Climate Innovation, Waste Smart Solutions, Agri-Tech तथा Technology and Data-driven Social Innovation लगायतका क्षेत्रमा युवालाई प्रत्यक्ष सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनका अवसर प्रदान गरिँदै आएको ल्याबले जनाएको छ।
युवालाई डिजिटल अर्थतन्त्रसँग जोड्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा सञ्चालित उडान परियोजना, Tag Me, Heat AI लगायतका कार्यक्रमबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।
‘अवसर कुर्ने होइन, सिर्जना गर्ने सोच आवश्यक’
युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युवामा अवसरको अभावबारे मात्र चर्चा गर्नु पर्याप्त नभएको बताए।
“युवालाई अवसर भएन भनेर मात्र हुँदैन। हामीले अवसर र सम्भावना कसरी सिर्जना गर्न सकिन्छ भन्ने विश्वास र क्षमता पनि विकास गर्नुपर्छ,” उनले भने, “उद्यमशीलता, प्रविधि र नवप्रवर्तनलाई एउटै ठाउँमा ल्याएर युवालाई आफ्नै सम्भावना देखाउन र नयाँ कुरा प्रयोग गर्न प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य हो।”
उनका अनुसार ओपन हाउसले युथ इनोभेसन ल्याबभित्र भइरहेको कामलाई बाहिरका युवासँग जोड्नुका साथै सम्भावित उद्यमी, विद्यार्थी तथा नवप्रवर्तकका लागि भविष्यमा सहकार्यका अवसर खुला रहेको सन्देश दिएको छ।
कार्यक्रम निर्देशक गोमा कार्कीले ठूलो भीडभन्दा प्रत्यक्ष र अर्थपूर्ण अन्तरक्रियालाई प्राथमिकता दिइएको बताइन्।
“यहाँ आएका प्रत्येक सहभागीले उद्यमीसँग कुरा गर्न, प्रविधि नजिकबाट हेर्न, सेन्सर र डिजिटल समाधानबारे बुझ्न तथा आफू सहभागी हुन सक्ने अवसरबारे प्रत्यक्ष जानकारी लिन पाए,” उनले भनिन्।
युथ इनोभेसन ल्याबले आगामी दिनमा पनि कार्यालयलाई युवा, प्रविधि, उद्यमशीलता र नवप्रवर्तनबीच खुला सिकाइ तथा सहकार्यको मञ्चका रूपमा विकास गर्दै लैजाने जनाएको छ।