ईयू र नेपालबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता

ईयू र नेपालबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र इयूबीचको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो।

भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधार अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत भइरहेको बताउनुभयो।

मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधा अन्त्य, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। शिक्षा क्षेत्रका सुधारका विषयमा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न नेपाल तयार रहेको उहाँले बताउनुभयो।

प्रारम्भिक बाल विकास (इसिडी) का शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने कार्यलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

भेटमा राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूको महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजदूत लोरेन्जोले सन् २०२८ देखि २०३४ सम्म नेपालको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक फ्रेमवर्क निर्माणमा इयूले काम गरिरहेको जानकारी दिनुभयो। विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा तथा शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको उहाँले बताउनुभयो।

खबरपाटी
खबरपाटी