डिजिटल शैक्षिक सेवाका लागि बिमानको 'शिक्षामा प्रविधिको प्रयोग' अभियान

डिजिटल शैक्षिक सेवाका लागि बिमानको 'शिक्षामा प्रविधिको प्रयोग' अभियान

काठमाडौं । आधुनिक प्रविधिको प्रयोगले विभिन्न क्षेत्रलाई छिटो, छरितो र भरपर्दो बनाउँदै गइरहेको छ। अन्य सेवासँगै शैक्षिक क्षेत्रमा पनि प्रविधिको प्रयोग भइरहेको छ। अनलाइन पढाई, घरबाटै पूर्व तयारी, गुणस्तरीय शैक्षिक सामग्रीको पहुँच तथा सजिलो शुल्क भुक्तानी जस्ता सुविधाले शैक्षिक संस्था, विद्यार्थी एवं अभिभावकलाई समेत सजिलो बनाएको छ।

निरन्तर आफ्ना उद्देश्य र समाजमा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिआईएम एशोसियसन अफ नेपाल (बिमान) ले वर्ष २०८० लाई शिक्षामा प्रविधिको प्रयोग अभियान शुरु गरेको छ। यस अभियान अन्तर्गत रहेर यो वर्ष बिमानले आफ्ना नियमित कार्य योजना सहित शैक्षिक सेवामा डिजिटल प्रविधिको प्रयोगलाई अझ उचित तरिकाले बढाउन साथै प्रविधिको प्रयोग सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रम गर्ने योजना तयार पारेको छ। 

सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत केही समयदेखि नै कुनै न कुनै माध्यमबाट प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको र अबका दिनमा पनि आफू तथा अन्य निकाय सँग पनि मिलेर अघि बढ्ने बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताए । 

यस अभियान अन्तर्गतमा रहेर डिजिटल वालेट खल्तीसँगको सहकार्यमा “खल्ती – डिजिटल शैक्षिक सेवा” योजना पनि ल्याएको छ। यस योजना अन्तर्गत कुनै पनि शैक्षिक संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सक्नेछन् । सजिलो पेमेन्टसँगै निःशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्यु आर सिस्टम समेत प्रधान गरिने अफिसर रभिन्स पोखरेलले जानकारी दिए ।

डिजिटल प्रयोग सुन्दा सजिलो र राम्रो देखिए पनि यसका चुनौती हरू पनि थुप्रै छन्। आर्थिक, भौगोलिक तथा साक्षरता जस्ता कारकहरूले पनि यो प्रयोग कति चुनौती पूर्ण हुन सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ। नेपाल यस्तो देश हो जहाँ यी मध्ये केही न केही चुनौती ठोकिन्छन् नै।  यही चुनौतीलाई मध्यनजर गर्दै दुर्गम मानिएका क्षेत्रमा पनि यो योजना पुर्याउने उद्देश्यले सुदूर पश्चिम प्रदेश ९ प्रदेश ७ ० बाटै अभियान शुरु गरिएको बिमान संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । 

प्रदेश ७ मा प्रतिनिधित्व गर्दै आइरहनु भएका गणेश थापा पनि यो अभियानलाई लिएर सकारात्मक रहेको र यस अभियानमा जोडिन पाउँदा खुशी भएको जानकारी दिए ।  थापा बाजुरामा अनाथाश्रम सञ्चालन, सामाजिक अभियन्ता तथा युवा राजनीतिमा सक्रिय रहेर कार्य गर्दै आइरहेका छन् ।

साथै काठमाडौँ सरसफाई अभियानमा अग्रसर रहेर सामाजिक कार्य गर्दै आइरहेका नेपालकै कान्छो सामाजिक कार्यकर्ता केपी खनालले पनि यो अभियानमा जोडियर आफू र आफ्नो संस्थालाई पनि प्रविधिको प्रयोगलाई अगाडी बढाउने किसिममा कार्यमा सक्रिय रहने बताए । 

बिमान संस्थाले यस बाहेक पनि विभिन्न अन्य शैक्षिक सेवा सँग  प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा सरोकार राख्ने संघ सस्थासँग पनि निरन्तर जोडिदै जाने बिमान संस्थाका सचिब सुमन पौडेलले जानकारी दिएका छन् । 

खबरपाटी
खबरपाटी