दैलेखमा अनुदान शिक्षकको आन्दोलन तीव्र, ११ महिना तलब नपाएपछि तालाबन्दी

दैलेखमा अनुदान शिक्षकको आन्दोलन तीव्र, ११ महिना तलब नपाएपछि तालाबन्दी

 

दैलेख । ठाटीकाँध गाउँपालिकाका अनुदान शिक्षकहरूले ११ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनलाई तीव्रता दिएका छन्। बारम्बार गाउँपालिका र सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएपछि उनीहरू पुनः सडकमा उत्रिएका हुन्।

शिक्षकहरूले सोमबार (मंसिर १८, २०८२) गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्। साथै, मंसिर १९ गतेदेखि गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरिएकाे छ।

अनुदान शिक्षक संघर्ष समिति ठाटीकाँधका अनुसार स्थानीय निकाय, संघ–संस्था, शिक्षक महासंघ र सरकारी संरचनासँग भएका सहमति कार्यान्वयन नहुँदा समस्या झनै चर्किन पुगेको छ। निरन्तरको तलब अभावले उत्पन्न भएको आर्थिक समस्याले शिक्षाकर्मीहरू कठिन अवस्थामा पुगेकाे समितिको भनाइ छ।

समितिले गाउँपालिकाका सम्पूर्ण प्रधानाध्यापकहरूलाई विद्यालय बन्द गरी आन्दोलनमा साथ दिन अपिल गरेको छ। शिक्षकहरूले तत्काल समस्या समाधान गरी तलब उपलब्ध गराउन माग गरेका छन्।

यस विषयमा गाउँपालिकाले भने औपचारिक प्रतिक्रिया नदिएको बताइएको छ।

खबरपाटी
खबरपाटी