महिला उद्यमीका समस्या समाधान गर्न मन्त्री बादीको अग्रसरता : समस्या पहिचानदेखि सीप विकास र बजार विस्तारसम्म योजनाबद्ध पहल गरिने

महिला उद्यमीका समस्या समाधान गर्न मन्त्री बादीको अग्रसरता : समस्या पहिचानदेखि सीप विकास र बजार विस्तारसम्म योजनाबद्ध पहल गरिने

सुर्खेत - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतस्थित लघु औद्योगिक ग्राममा महिला उद्यमीहरूले सञ्चालन गरेका विभिन्न व्यवसायको अवलोकन गर्दै उनीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको छ।

अवलोकनका क्रममा मन्त्री बादीले महिला उद्यमीहरूसँग उनीहरूले सञ्चालन गरिरहेका व्यवसाय, भोगिरहेका समस्या, चुनौती र आवश्यकताबारे खुलेर जानकारी लिनुभएको थियो। उहाँले उद्यमीहरूलाई आफ्ना समस्या र आवश्यकताहरू स्पष्ट रूपमा राख्न आग्रह गर्दै प्राप्त सुझावका आधारमा समस्या समाधानको योजना बनाएर प्रक्रिया अगाडि बढाइने बताउनुभयो।

महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम, कच्चा पदार्थको सहज उपलब्धता तथा उत्पादित सामग्रीको बजारीकरण र बजार विस्तारलगायतका विषयमा आफ्ना समस्या तथा सुझाव प्रस्तुत गरेका थिए।

उद्यमीहरूको समस्या समाधानका लागि आफूले योजनाबद्ध रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बादीले महिला उद्यमीको आवश्यकता र समस्याअनुसार सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र सहकार्य गरेर काम अगाडि बढाइने बताउनुभयो।

उहाँले महिला उद्यमीहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि छिट्टै तालिम कार्यक्रम सञ्चालन गर्ने पहल गरिने जानकारी दिँदै उत्पादन वृद्धि, कच्चा पदार्थको सहज उपलब्धता, सहुलियतपूर्ण ऋण र उत्पादित वस्तुको बजार विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो।

महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले मन्त्री बादीले स्थानीय स्रोतसाधनको प्रयोग गरी महिला उद्यमीहरूले उत्पादन गरेका साडी तथा कोटसमेत खरिद गर्नुभयो। उहाँले स्थानीय उत्पादनको महत्त्व बुझ्दै महिला उद्यमीहरूलाई आफ्नो सीप, क्षमता र उत्पादनमा विश्वास राखेर व्यवसायलाई थप विस्तार गर्न प्रोत्साहित गर्नुभयो।

महिला उद्यमशीलताको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र महिलाको आर्थिक आत्मनिर्भरता अभिवृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बादीले उद्यमीका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहललाई निरन्तरता दिने बताउनुभयो।

खबरपाटी
खबरपाटी