काठमाडौं- सिन्धुपालचोकको ४१०० मिटर उचाइमा अवस्थित पाँचपोखरी नेपालकै उच्च उचाइमा पर्ने पवित्र पाँच प्राकृतिक पोखरीहरूको समूह हो। भगवान शिव र पार्वतीले यहीँ धान रोपेको विश्वासले यस स्थानलाई अझ पवित्र बनाएको छ। जनैपूर्णिमामा यहाँ हजारौँ भक्तजन आउने गर्दछन्। लाङटाङ, जुगल र वरिपरिका हिमालशृङ्खलाका दृश्यले मन मोहित पार्छन्। शान्त वातावरण, आध्यात्मिक ऊर्जा र स्वच्छ प्रकृतिले पाँचपोखरीलाई अन्य ट्रेकहरूभन्दा भिन्न, विशेष र आत्मिक बनाउँछ। यही विश्वास र जिज्ञासाका साथ हामीले यो ट्रेक गर्ने निर्णय गर्यौँ।
काठमाडौँबाट सात जनाको हाम्रो टोली सोमबार अपराह्न १ बजे बनेपाबाट हिँड्दा मनमा उत्साह र अपूर्व जिज्ञासा दुवै थिए। यात्रा चाहे जहाँको होस्, मानिसलाई बदल्ने, बुझाइ थप्ने र जीवनलाई नयाँ दृष्टिकोण दिने शक्ति यात्रा–स्वभावमै हुन्छ। यस यात्रा पनि त्यसमा अपवाद थिएन। पहिलो दिन बेलुका ६ बजेतिर हामी छिम्ती पुग्यौँ। रात चाँडै परेकाले देउरालीसम्म पुग्न सकेनौँ र त्यहीँ बास बस्यौँ। चिसोले वातावरण ढाकेको थियो, तर अर्को बिहानको सुरुवात अझ कडा जाडोसँगै भयो। तातो पानी पिएर देउरालीतर्फ निस्कँदा चिसोले मुटु नै चिसारेजस्तो लाग्यो। तर उकालो बढ्दै गएपछि शरीर फेरि तातिन थाल्यो। सात जना हामीमध्ये सबैको गति फरक–फरक भए पनि मन एउटै दिशामा थियो। म आफ्नै सहजतालाई प्राथमिकता दिँदै आस्था, सुस्मीता र मामासँग अघि बढिरहेँ। उनीहरूको निरन्तर साथले यात्रा अझ आत्मीय बनायो।
देउरालीमा चिया–नास्ता गरेर हामी टुप्पीडाँडातिर लाग्यौँ। बाटोमा देखिएका अनौठा झाडी, दृश्य, भूभाग र रमाइला कुराकानीले उकालोको कठोरता थाहा दिनै दिएन। टुप्पीडाँडामा ३० मिनेट विश्राम गरी हामी फेरि अघि बढ्यौँ किनभने बास चपुरमै मात्र पाइन्थ्यो। चपुर पुग्दा अँध्यारो भइसकेको थियो। रात गहिरिँदै गयो, हावाले चिसो काट्न थाल्यो, र उचाइले निद्रा टाढै राख्यो। थकित शरीर र कठोर चिसोले त्यो रात नयाँ परीक्षा दियो। बिहान पुनः हिम्मत संकलन गर्दै हामी पाँचपोखरीतर्फ हिँड्यौँ। झोलामा रहेका सबै भारी सामान चपुरमै राखेर पानी, खानेकुरा र औषधि मात्र लिएर हल्का मनले अगाडि बढ्दा यात्रा फेरि रमाइलो लाग्यो। नारसाङ्पाटीमा नास्ता गरेर हामी अगाडि बढ्यौँ। आजको बाटो सबैभन्दा चुनौतीपूर्ण अंश थियो। तर टाढाबाट उठेका हिमालहरूले मनमा अदृश्य शक्ति भर्दै थिए।
सिसम, भाइ र प्रस्तुत धेरै अगाडि पुगेका थिए। हामी चार जना भने प्रकृतिको आकाश, पहाड र मौनतालाई बटुल्दै हिँडिरहेका थियौँ। सात घुम्तीको उकालो र ओरालो यात्राको सबैभन्दा कडा परीक्षा थियो। जति उकालो चढियो, शरीरमा जाँगर सकिन्थ्योस जति ओरालो झरियो, पाइलाको चाप बढ्थ्यो। लौरीबिनाको उकालोभन्दा सात घुम्तीले नै सबैभन्दा धेरै परीक्षा दियो। अन्ततः हामी पाँचपोखरी पुग्यौँ। समुद्री सतहबाट ४१०० मिटर उचाइमा रहेको त्यो दिव्य स्थलमा पुग्दा शरीरमा हल्का असहजता महसुस भयो। आस्थालाई झन् बढी गाह्रो भयो। बिहानदेखि निरन्तर हिँडाइ, खाना नखाएको, पानीको कमी र उच्च उचाइको असरले उनी कमजोर भइन्। तर बेहोसीजस्तै अवस्थामा पनि उनले सानु दिदि सम्झिएको सुन्दा मन नरम भयो र भावनाले भरियो। यात्राले यस्तो मायाको गहिराइ देखाउन सक्छ भन्ने त्यो क्षण जीवनकै विशेष अध्याय जस्तो लाग्यो।
पाँचपोखरीको दर्शन सकेपछि हामी फेरि तल झर्यौँ। हामीले टिकटकमा हेरेका १५ सेकेन्डका छोटा भिडियोहरूले देखाएको सजिलो यात्रा वास्तवमा अनन्त गहिरो, चुनौतीपूर्ण र अर्थपूर्ण रहेछ भन्ने कुरा स्पष्ट भयो। चार दिनको हिँडाइ, तीन रातको कठोर चिसो, उकालो, थकान, मित्रताको साथ, आत्माको संवाद, प्रकृतिको मौन संगीत—यी सबै मिलेर पाँचपोखरीको यात्रा मेरो जीवनको महत्वपूर्ण अध्याय बन्यो।
चार दिनको हिँडाइ, तीन रातको कठोर चिसो, उकालो, थकान, मित्रताको साथ, आत्माको संवाद, प्रकृतिको मौन संगीत—यी सबै मिलेर पाँचपोखरीको यात्रा मेरो जीवनको महत्वपूर्ण अध्याय बन्यो। यात्राभरि गाउँ–बस्तीका ताते कुकुरहरू पनि हाम्रो पाइलामा पाइलामिलाउँदै अघि बढ्थे। उनीहरूको उपस्थिति यात्रामा एउटा अनौठो, आत्मीय तातोपन लिएर आउँथ्यो। खासगरी म कुकुरप्रेमी भएकाले तिनीहरुसंसँग हिँड्दा जति कठोर बाटो आए पनि सहज र चिनजानको साथ मिलेको अनुभूति हुन्थ्यो। उनीहरूसंग हल्का कुरा गर्दै अघि बढ्दा यात्रा केवल मानिसहरूको होइन, प्रकृतिले दिएको जीवहरूको पनि साथ मिलेर बनेको सामूहिक अनुभवजस्तै लाग्थ्यो। उनीहरूको मौन साथले पनि यात्रामा मानवीयता र ममताको सुगन्ध थपिदियो।