निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान गर्दै निर्माण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विकासको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, जिम्मेवार र पारदर्शी बनाउँदै देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलमा महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसँग सम्बन्धित चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका थिए।

खबरपाटी
खबरपाटी