काठमाडौं – फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यू लगाउन आह्वान गरेका छन्।
प्रदर्शनकारीहरूले हिजो पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार अवरुद्ध पारेका छन्। सप्ताहान्तमा देशभर भएका प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो।
प्रहरीले अवस्थामाथिको नियन्त्रण गुमाएको गृहमन्त्री लरेन्ट नुनेजले बताएपछि प्रधानमन्त्रीले मन्त्रीहरूसँग सङ्कटकालीन बैठक बोलाएका थिए। आगामी शनिबार पुनः प्रदर्शन गर्ने ‘येलो भेस्ट’ आन्दोलनको घोषणापछि लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार आंशिक तथा स्थानीय कर्फ्यू लगाउन आग्रह गरेका गरेका हुन्।
उनले सार्वजनिक व्यवस्था पुनःस्थापित गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे सङ्कटकाल घोषणा गर्नसमेत तयार रहेको बताए। गत शनिबार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतविरुद्ध सडकमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा मुखुन्डो लगाएका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नगर भवनलगायत सार्वजनिक संरचनामा आगजनी र पसलहरूमा लुटपाट गरेका थिए । प्रहरीको कारबाहीमा प्रदर्शनकारीसमेत घाइते भएका छन्।