सञ्चारकर्मी गौरब अधिकारी
मानिस आफुलाई कुनै एक पशुको स्थानमा राखेर हेर्नु र उक्त पशुको बेदना बुझ्नु निकै ठुलो कुरा हो । यस्तै हामीले देख्ने गर्छौ मानिसहरुले घर पालुवा जनावर होस या वन्यजन्तु सबैलाई आफ्नो स्वार्थको हिसावले प्रयोग गरिरहेको पाइन्छ । यसैबिच घरपालुवा जनावर गाई र भैसीको बेदना र दुख विषेशगरि एक गाई र भैसीले आफ्नो जिवनकालमा भोगेका बेदनालाई शब्दमा पस्कीनु भएको छ । सञ्चारकर्मी गौरब अधिकारीले । उँहा हाल फ्रीलान्सर हुनुहुन्छ ।
मेरो गलामा दाम्लो क्रूर मानिसको स्वार्थ थियो । हामी सधैं दासी अनि मानिस हाम्रो मालिक । आफुलाई सर्वश्रेष्ठ विवेकशील प्राणीको उत्पाद ठानेर हामीलाई दास बनाउनु यो मानिसको कस्तो विवेक हो ?
मेरो लागि सबेरै उठ्छ अनि मेरो भोको पेटलाई बुझेर मलाई आहारको बन्दोवस्त गर्छ, कति ज्ञानी दिनभर मेरो धन्धामा लागिरहन्छ । उसको यो करुणाको भावले म फुर्किन्थे । म दाम्लाको जालमा जकडिए पनि उसको यो ममताले मलाई खुल्ला आकाशमुनिका अनेक चरनभुमीमा स्वतन्त्रतापूर्वक बाचिरहेको अनुभुति हुन्थ्यो । यो भावले लाग्थ्यो मानिस मेरो दास बनिरहेको छ अनि म उसको मालिक । तर बिडम्बना सबै प्रपञ्चको आवरण थियो । अमृतको प्याला थिए र पो ममता पाएको थिए, त्यो निर्लिप्त प्यालाको त के काम । मेरो शरीर रस निचोडिएको कागतीको अस्तित्व सरह भयो ।
मानिस भएर पनि म भित्रको संताप कहिल्यै बुझेन । शारीरिक असहजताले कहिलेकाही सहिनसक्नुको पिडा हुँदापनि मानिस सधैं सोमरसमै लालायित भयो । मानिस बलपूर्वक दुधको सर्को तान्दा थुनमा असह्य पीडा भै शरीर पीडा सहन गर्न नसकेर हलचल हुन्थ्यो, तर मानिस मेरो वेदनाको भावलाई नबुझी म पीडामा उफ्रिदा त्यहीँमाथी मलाई लठ्ठीले बजार्थ्यो । म भित्रको दुखानुभूति मेरा आँखामा प्रष्ट देखिएको हुन्थ्यो । मेरा आँखा आँसुले टिलपिल टिलपिल हुन्थे ।
हुन त दमनको अहंकारले भरिएको मानिस मेरो शब्दविहिन वेदनापुर्ण भावलाई किन बुझ्न खोज्थ्यो र । लाग्थ्यो मानिस भित्रको उत्पात अत्याचार र क्रूरताविरुद्ध विद्रोह गरुँ । तर त्यो ममता भित्र लुकेको कठोरता, अभद्रता र अमानवीयतालाई म कसरी विद्रोह गर्न सक्थे र ? म मजबुर थिए, लाचार थिए, किनकि म दाम्लोले बाधिएको थिए, मलाई बन्धनक बनाइएको थियो । म पीडा र बन्धनको सिमित संसारमा थिए । सोच्थे कि मरिजांउ तर इच्छाअनुरुप मरणपनि कहाँ हुन्छ र, अझै कति सन्त्रास सहन गर्नु थियो ।
मेरो जीवनको यात्रा तिक्ष्ण हतियारको धारमा थियो । सोमरसको उपलब्धता मात्र एक मेरो बाच्ने आधार थियो, जब यसको आपूर्तिमा कमि हुन्थ्यो तब मेरोलागि न भोकमा भोजन न प्यासमा पानी, न चोटमा मलम न रोगमा ओखती, शरीर भित्रको उत्पीडन असहनीय बन्थ्यो ।
टिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ" के साच्चै पाप लाग्छ भने ती हिरा जस्तै टल्किने आँखा, त्यो निर्दोष सौम्य मुखाकृति अनि कोमल छाला, जुन मेरो बोटमा फुलेको थियो, यो कोपिला किन चुडियो ? निर्दयी मानिसले किन मेरो सन्तान जन्मिदा जन्मिदै म बाट छिनेर लगे ? किन उसको जीवन सुरु नहुदै समाप्त गरिदिए ? नालायक पापीहरु, सबै थाहा छ, मेरो सन्तान तिमिहरुको लागि केवल मासुको व्यापार थियो, त्यसैले होला मेरो ममता, मेरो प्रेम, मेरो स्नेह तिम्रो क्रुरता अगाडि तुच्छ ठहरिएको । मैले जीवनमा धेरै सहन गरेँ, तर कुनै पनि पीडा यो जस्तो गहिरो र निस्सहाय भएन ।
२० औं बर्ष यसरीनै बित्यो । र अहिले म बधशाला मा छु अनि मृत्युलाई पर्खिरहेछु ।
गुहार । गुहार ।। गुहार ।।।
हे ईश्वर के तिमी मानिसका लागि मात्रै हौ, हाम्रा लागि होइनौ ? हाम्रो जीवनको दुःख र पीडामा तिमी किन सधैं मौन रहन्छौ ? के तिमीलाई मात्र मानिसको हर्ष र सुख प्रीय हो ? हेर न हाम्रो दुर्दशा, हाम्रो जीवन र मृत्युको बीचमा मात्र अन्धकार छ । विन्ती छ हाम्रो जीवन र मरण बीचको यो विभेदलाई समाप्त गर र हामीलाई पनि एक खुशहाल जिन्दगी जिउने अवसर देउ ।
ईश्वर :-
जीवन मृत्युको चक्र चलिरहन्छ, पालो उसको पनि आउने छ ।
आज तिमि शब्दविहीन छौ, पालो उसको पनि आउने छ ।।
पिडा, बन्धन, र क्रूरताको स्वाद चखाउनु छ, पालो उसको पनि आउने छ ।।।