कीर्तिपुरको त्यो ओरालोमा हरेक बिहान एउटी सानी बहिनी सागको डोको बिसाएर उभिएकी हुन्थी। उसको गालाको लालीमा बालापन अझै बाँकी थियो, तर आँखाहरूमा भने उमेरभन्दा धेरै अघि सरेको पाको जिम्मेवारी तैरिरहन्थ्यो। बाटो हिँड्नेहरू आउँथे, पैसा र सागको मोलतोल गर्थे, अनि आफ्नै गन्तव्यतिर लाग्थे। कसैले पनि त्यो अबोध अनुहारभित्र लुकेको कथाको पाना पल्टाउने फुर्सद गरेनन्।
उसको दिन क्षितिजमा सूर्य नउदाउँदै सुरु हुन्थ्यो। शीतले भिजेका भुइँकुहिरोसँगै आमाको पछ्यौरी समातेर खेतमा जानु, चिसो माटोबाट सागका मुठाहरू टिप्नु, र तिनलाई डोकोमा सजाएर बजारसम्म ल्याउनु नै उसको बाल-संसार थियो। विद्यालय जाने रहरको एउटा सानो टुक्रा उसको मनमा पनि जिउँदै थियो। कहिलेकाहीँ उस्तै उमेरका बालबालिका सफा पोशाकमा सजिएर, काँधमा झोला भिराई हाँस्दै हिँडेको देख्दा उसका आँखाहरू केही क्षण टोलाउँथे। उनीहरूको हाँसोको गुञ्जनसँगै उसको मन पनि स्कुलको चौरसम्म पुगेर फर्कन्थ्यो। तर, ती रहरहरूलाई गरिबीको एउटा चिसो सुस्केराले तुरुन्तै बगाएर लैजान्थ्यो; किनकि घरको चुल्हो बाल्ने आवश्यकता उसका रहरहरूभन्दा धेरै गह्रौँ थियो।
गरिबीले उसलाई एउटा अदृश्य पिंजडाभित्र थुनेको थियो। यस्तो पिंजडा, जसमा फलामका देखिने बारहरू त थिएनन्, तर अभाव, बाध्यता र सामाजिक बेवास्ताका यस्ता बलिया डण्डीहरू थिए, जसलाई तोड्ने सामर्थ्य त्यो सानी बालिकासँग थिएन। उसको उमेर खेलमैदानमा पुतली धपाउने थियो, तर ऊ बजारको सडकछेउमा धुलो र धुवाँसँग सम्झौता गरिरहेकी थिई।
एकदिन, आकाशबाट दर्केर पानी परिरहेको थियो। मानिसहरू ओत खोज्दै छाताभित्र लुकिरहेका थिए। तर, ऊ भने आफ्नो शरीर भिज्दा पनि डोकोभित्रको सागलाई ओभानो राख्ने हतारोमा थिई। पानीका थोपाहरू उसको गाला हुँदै बगिरहँदा अचानक उसको अनुहारमा एउटा सुन्दर मुस्कानको रेखा कोरियो।
त्यो दृश्य देखिरहेका एक ग्राहकले अचम्म मान्दै सोधे, “यो झरीमा पनि किन हाँसेकी बहिनी?”
उसले नलजाई, निकै सहजताका साथ उत्तर दिई, “आज पानी परेर के भो त, सबै साग बेचिए भने बेलुका भाइलाई नयाँ कापी र कलम किनिदिन पाउँछु।”
त्यो एउटै मुस्कानभित्र एउटा गहिरो पीडा पनि थियो र भाइको भविष्य उज्यालो बनाउने एउटा सुन्दर सपना पनि। त्यही क्षण महसुस हुन्थ्यो, ऊ अन्धकार भित्रको पिंजडामा थुनिएकी त छे, तर उसले आफ्नो मनको आशाको झ्यालमा कहिल्यै ताला लगाइन।जीवनका पाटाहरूले उसलाई हिलोमा त पछाडिरहेका थिए, तर उसका पखेटाहरू अझै नीलो आकाश छुने हुटहुटीमा थिए। सायद एक दिन यी सङ्घर्षका पाटाहरू सकिनेछन्। सायद एक दिन यो बहिनीले कीर्तिपुरको त्यो ओरालो र सागको डोकोबाट बाहिर निस्केर संसारलाई फरक ढङ्गले चिन्नेछे। उनी सडकको कुनाबाट अरूलाई हेर्ने मात्र होइन, आफ्नै पौरख र सफलताको उचाइमा उभिएर यो संसारलाई नियाल्नेछे।
किनकि, रात जतिसुकै लामो र अन्धकार भए पनि बिहानीको सूर्यलाई त्यसले रोक्न सक्दैन। अनि संसारको कुनै पनि पिंजडा यति बलियो हुँदैन, जसलाई पसिनाको गन्ध र पखेटामा अठोट बोकेको 'आशा' ले तोड्न नसकोस् ।
सपना ज्ञवाली
विद्यार्थी