
“म सक्छु त…?”
यात्राको सुरुवात यही एउटै प्रश्नले भयो।
जीवनमा पहिलो पटक ट्रेक गर्ने निर्णय सजिलो थिएन। हिमाल त देखिएकै थिए, तर ‘हिमाल चढ्ने’ बाटो चलेजस्तो भने कहिल्यै थिएन। डर लाग्यो—कहीं बीचमै थाकेर फर्किनु परे के होला? उचाइमा स्वास फेर्न नसके के गर्ने? मनभित्रको डरको यो बादल काठमाडौंको कोलाहलभन्दा बाक्लो थियो।
तर जीवन भनेको अनुभव संकलन हो।
अनि अनुभवको मूल्य कहिल्यै सजिलो बाटोबाट पाइँदैन।
२०८२ साल जेठ २० गते, बिहान ५ बजे, १६ जनाको हाम्रो यात्रा समूह काठमाडौंबाट निस्कियो। अधिकांश साथीहरू नयाँ अनुहार थिए। कोही रमाइला, कोही चुपचाप। तर हामी सबैलाई एउटै कुरा गाँजिएको थियो—लाङटाङको क्यान्जिन गोम्बा पुग्ने लक्ष्य। हाम्रो समूहमा स्वदेशी तथा विदेशी गरी ६७ जना धावक पनि थिए, जो ट्रेल रनको तयारीमा थिए।
धुन्चेसम्मको यात्रामा रमाइलो र हल्का गफगाफले मेरो डर हराउँदै गयो। त्यहाँबाट स्याफ्रुबेसी जाँदा चिसोले कपाल छोइहाल्यो, तर साथमा रहेका साथीहरूले मनको उर्जा घट्न दिएनन्। साँझ पर्नै लाग्दा हामीले पैदल यात्रा सुरु गर्यौं। क्यामरामा प्रकृति कैद गर्दै, गफ गर्दै, खोलाका आवाजहरूमा रमाउँदै अगाडि बढ्यौं।
पहिलो रात व्याम्बो पुग्दा मलाई लाग्यो, “यो त स्वर्गको कुनै कुनाजस्तै रहेछ।” त्यहाँको सुसाउँदै बग्ने खोला, हरियाली, शान्तता—सबै कुरा जीवनमा पहिलोचोटि देखे जस्तो लाग्यो।
बिहान कलकल खोलाको आवाजले आँखै खोले। तातो सिरक छोड्न मन नलागे पनि, त्यो रमाइलो दृश्यले बाहिर ननिस्की रहन सकिँदैनथ्यो। बिहान ८ बजेबाट फेरि हामी अघि बढ्यौं—आजको लक्ष्य थियो ‘लाङटाङ गाउँ’। साथीहरूले मेरो झोला बोकेर साथ दिनु भएकोले अझ सहज महसुस भयो। बाटो कठिन थियो, उकालो धेरै थियो, तर हरेक मोडमा प्रकृतिको नयाँ कथा भेटिन्थ्यो।
लामा होटलमा मीठो खाना खाँदै, विदेशी पर्यटकहरूसँग मुस्कान साट्दै, हामी साँझ ८ बजे लाङटाङ पुग्यौं। त्यो बेलासम्म खुट्टा कठ्यांग्रिएका थिए, तर मन हलुका थियो। श्रीमान् बिना जीवनको पहिलो एक्लो यात्रा, हिमालको शीतल काखमा पुर्याउने हिम्मत आफ्नै आत्माबाट आएको महसुस भयो।
अर्को बिहानको यात्रा थियो—क्यान्जिन गोम्बातिर।
प्रकृति झन सुन्दर हुँदै गइरहेको थियो। फुलहरू, सेता बादल, हिमालका झल्कोहरूले थकान बिर्साइदिए। बाटोभर साथीहरूसँग रमाइलो गर्दै, फोटो खिच्दै, कहिले नच्दै, कहिले मौन हुँदै यात्रा गर्यौं।
र… जब क्यान्जिन गोम्बा पुग्यौं, म स्तब्ध भएँ।
यो त मैले कल्पनै नगरेको दृश्य थियो—सेता हिमालहरूले घेरिएको सानो, सुन्दर गाउँ। जहाँ हरेक वस्तुमा शान्ति छ, सुगन्ध छ, साधना छ। यो ठाउँ कुनै चित्रकारको सपना होइन, यो त जीवनको सौन्दर्य थियो। मलाई लाग्यो—म यही बस्न सक्छु।
त्यो रात भारी पानी पर्यो। मलाई डर लाग्यो—भोलि हिमाल देख्न पाइन्छ कि?
तर बिहान झ्यालबाट हेर्दा मैले देखेँ—हिउँले ढाकिएको सेतो स्वर्ग!
हिमालको मुस्कानले हामीलाई स्वागत गरिरहेको थियो। हामी ३–४ घण्टा त्यही हिमालको दर्शन गर्दै बस्यौं। त्यो क्षण… जीवनभरि सम्झन लायक क्षण थियो।
खाना खाएपछि हामी केही फर्कियौं, केही क्यान्जिनमै बस्ने निधो भयो। फर्कने बाटो सजिलो थिएन, तर मन उत्साहित थियो—किनकि यात्रा अब भित्रको आत्मा फेरिएको अनुभव लिएर फर्किँदै थियो।
म लाङटाङमा केवल शारीरिक रूपमा पुगेको थिइनँ—म आत्मिक रूपमा पनि एक नयाँ स्तरमा पुगेकी थिएँ।
यो यात्रा मेरो लागि केवल ट्रेक थिएन।
यो यात्रा नारी शक्ति को पुन:स्मरण थियो।
यो यात्रा डरको घेरा चिर्दै, हिम्मतको उज्यालो देख्ने प्रक्रिया थियो।
यो यात्रा जीवनको भागदौडबाट बाहिर निस्केर, आफ्नो आत्मासँग संवाद गर्ने मौन घडी थियो।
आज मलाई लाग्छ—जसरी क्यान्जिन गोम्बाको चिसोले हृदय न्यानो बनायो, त्यसरी नै हरेक महिलाले पनि कहिल्यै नसकेको लाग्ने यात्रामा निस्कनुपर्छ। हरेक पाइलाले आत्मबल थप्छ, हरेक उकालोले भरोसा दिन्छ।
हाम्रो जीवनमा यात्रा अनिवार्य छ—तर कहिलेकाहीँ ती यात्रा भूगोलको नभई, आत्माको हुन्छन्।
लाङटाङ मेरो लागि त्यही आत्मिक यात्रा थियो—जहाँ मैले ‘म’ फेला पारेँ ।
✍ कल्पना सानु भट्टराई