
काठमाडौं । पूर्वी नेपालको खोटाङ जिल्लास्थित ऐसेलुखर्क गाउँपालिकामा जन्मिएकी अल्ट्रा धाविका निर्मला राई को कथा सामान्य छैन। जीवनले उनलाई कहिल्यै सजिलो बाटो दिएन—तर उनले कहिल्यै हार मानिनन ।
घरकी जेठी छोरी, निर्मलाको काँधमा बाल्यकालदेखि नै जिम्मेवारी थियो—बुवा-आमाको सपना, भाइबहिनीको भविष्य अनि घरको मूल आधार बन्ने बाध्यता। तर त्यो जिम्मेवारीले उनको सपना लुकाएन, बरु ती जिम्मेवारीहरु नै उनको आत्मबल बने।
मार्केटिङ पेशामा व्यस्त रहँदै गर्दा, उनले मनभित्र दबिएको एउटा चाहना फुकाउँदै भनिन्—“अब केही गर्छु।” यही भावना बोकेर उनले ३१ वर्षको उमेरमाखेलकुदमा पाइला राखिन्। उमेर ढिलो भयो भनेर थाक्ने हैन, दौड्ने निर्णय गरिन्।
२०२४ मा आयोजित Manjushree Trail Race (१०० माइल / १७० किमी) मा उनी पहिलो पटक सहभागी भइन्। त्यो दौड जहाँ थकानले शरीर भाँचिएको थियो, आत्मबलले उनलाई अगाडि बढायो। ३४ घण्टा ५४ मिनेट ३० सेकेन्डमा उनले त्यो कठिन मार्ग पार गरिन्—र महिला तर्फ पहिलो स्थानहासिल गरिन्। यो सफलता सामान्य थिएन, यसमा लुकेको थियो अथक मेहनत, आँसु र अठोट।
त्यसपछि उनले Sailung Ultra Marathon, Khiji Demba Ultra, Manaslu Trail, र Panchpokhari Women’s Trail Race जस्ता थुप्रै दौडहरूमा भाग लिएर नेपालको गौरव बढाइन्।
हालै सम्पन्न Langtang Trail Run मा, स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि निर्मलाले हार मानिनन्।
३२ किमी दुरीको यो दौड क्याँजिन गोम्पा देखि स्याफ्रुबेसी सम्म थियो। निर्मलाले यो मार्ग ३ घण्टा १५ मिनेटमा पार गरिन्—र तेस्रो स्थान हात पारिन्।
यसपछि उनले भनिन्, “शरीर थाकेको थियो, तर मनले अझै पनि दौड भन्न छाडेको थिएन।”
उनी भन्छिन्, “मान्छेहरुले उमेरको हिसाबले गर्न सक्दिनस् भन्छन्। जति माथि पुग्छौ, त्यति नै खुट्टा तान्न खोजिन्छ। राजनीतिले खेल पनि बिगार्छ। अझै पनि राज्यले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न बाँकी छ।”
घरकी जेठी छोरी निर्मलाले परिवारको आर्थिक र सामाजिक जिम्मेवारी कहिल्यै बिर्सिनन्। भाइबहिनीको शिक्षा, भविष्य र घरको आधार आज पनि उनको काँधमा छ।
तर, त्यस जिम्मेवारीले उनलाई थिचेन, बरु उनको पाखुरा अझ बलियो बनाइदियो।
आज पनि उनी दौडिरहेकी छन् — कहिले पहाड चढ्दै, कहिले भित्तो चिर्दै, तर सँधै नेपाली महिलाहरूको सम्भावनाको प्रतिनिधित्व गर्दै।
✍️ कल्पना सानु भट्टराई