काठमाडौँ - राष्ट्रियसभामा नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्।
शुक्रवार राष्ट्रियसभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन्।
सांसद झाँक्रीले स–साना आयोजनाका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी गरिन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भने पनि सोहीअनुसार बजेट नआएको तर्क गरिन्।
सांसद झाँक्रीले भनिन्, ‘स–साना स्केलका कार्यक्रमलाई जसरी राखिएको छ। त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन। बजेटमा पुरानै कुरा छन् तर यसका लागि बजेट देखिँदैन। यसले कसरी मुलुकको अर्थमन्त्रीलाई समृद्ध बनाउन सक्छ ?’
साँसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई छुन नसकेको पनि बताइन्।