काठमाण्डौ – काठमाण्डौ उपत्यकाको नदी किनार क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने काम आज पनि चलिरहेको छ ।
सरकारले अतिक्रमित क्षेत्रका घरटहरा तथा संरचना हटाउने क्रमलाई आज पनि निरन्तरता दिएको हो । आज काठमाण्डौको गैरीगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको बस्तीमा डोजर चलाइएको छ ।
सरकारले अस्ति शनिवार बिहानदेखि यस्ता बस्ती हटाउन अभियान थालेको थियो । थापाथली, शान्तिनगर, गैरीगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाएर त्यहाँ बसोवास गर्दै आएका परिवारलाई त्रिपुरेश्वरको दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगसँगै भइरहेको छ ।
वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न ठाउँका भवनमा खाने–बस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिनेछ ।
काठमाण्डौ उपत्यकाबाहिर पनि विभिन्न ठाउँमा अतिक्रमित क्षेत्र खाली गर्ने काम भइरहेको छ ।