मंगलबार र बुधबार कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मंगलबार र बुधबार कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ — भोलि र पर्सि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा मौसम अझ बढी सक्रिय रहने सम्भावना छ ।

कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका केही उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि भोलि केही घट्ने अनुमान छ ।

तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षा समेत सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका ठाउँमा आज पनि तातो दिन हुने महाशाखाले जनाएको छ । पानी परेपछि भोलि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

वर्षासँगै चट्याङ्गको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले  पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 
 

खबरपाटी
खबरपाटी