काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडकको बीचमा रहेका विद्युतीय पोल र अनधिकृत जग्गा प्लटिङका कारण नागरिकको सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले सार्वजनिक पूर्वाधार व्यवस्थापन र वातावरणीय जोखिमका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पाण्डेले सडक विस्तार र कालोपत्र सम्पन्न भइसकेका धेरै स्थानमा विद्युतीय पोलहरू सडककै बीचमा रहँदा सवारी दुर्घटनाको जोखिम बढेको बताए । ‘उज्यालो नेपाल’ को चर्चा भइरहँदा जोखिमपूर्ण पोलहरू हटाउन भइरहेको ढिलाइप्रति उनले प्रश्न उठाए ।
नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको भन्दै उनले यसको आर्थिक भार सर्वसाधारणमाथि थोपर्नु उचित नहुने तर्क गरे ।
"विद्युतीय पोल र उच्च भोल्टेज प्रशारणलाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणले नागरिकबाटै २५ प्रतिशत लागत व्यहोर्नुपर्ने भनी बनाएको कार्यविधि न्यायसंगत छैन, यसलाई तत्काल खारेज गरिनुपर्छ," उनले भने ।
सांसद पाण्डेले देशका विभिन्न स्थानमा प्रचलित कानुन र मापदण्डविपरीत अनधिकृत जग्गा प्लटिङ भइरहेको भन्दै आपत्ति जनाए । कानुनविपरित प्लटिङ गर्ने, त्यसलाई संरक्षण गर्ने वा घरबाटोको सिफारिस दिने व्यक्ति तथा निकायमाथि कडा कारबाही गर्न उनले सरकारसँग माग गरे ।