भारतको राजधानी नयाँदिल्ली बाक्लो र विषाक्त धुवाँको चपेटामा

भारतको राजधानी नयाँदिल्ली बाक्लो र विषाक्त धुवाँको चपेटामा

भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ। वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ।

करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ। जाडो मौसम सुरु हुनासाथ यहाँको आकाश बाक्लो धुवाँले ढाकिने परम्परा झैँ बन्दै आएको छ।

चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुँवा र सवारी साधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ। यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।

यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो। ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएका हुन्। तथापि विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको रिपोर्टहरू आएका छन्।

वायु प्रदूषण मापन संस्था आइक्युएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर पैदा गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने एः २.५ स्तर २४८ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो।

खबरपाटी
खबरपाटी