न्यूजील्याण्डको वार्षिक मुद्रास्फीति सन् २०२५ को सेप्टेम्बर त्रैमासिक अवधिसम्ममा ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो जुन त्रैमासमा २.७ प्रतिशत थियो। यो दर रिर्जभ बैंक अफ न्यूजील्याण्डले तोकेको १ देखि ३ प्रतिशतको लक्ष्य सीमा भित्रको उच्चतम बिन्दुमा पुगेको हो।
स्ट्याट्स एनजेडका अनुसार, यो दर सन् २०२४ को जुन त्रैमासपछिको सबैभन्दा उच्च हो, जब मुद्रास्फीति ३.३ प्रतिशत पुगेको थियो।
मूल्य वृद्धिमा सबैभन्दा ठूलो योगदान आवास र घरेलु उपयोगिता समूहको रहेको छ, जसमा विद्युत्, घरभाडा र स्थानीय निकायका करहरू मुख्य कारक बनेको छ। यी वस्तुहरूको संयुक्त प्रभावले उपभोक्ता मूल्य सूचकांकको करिब १७ प्रतिशत हिस्सा ओगटेको छ।
विद्युत् दरमा वार्षिक रूपमा ११.३ प्रतिशतले वृद्धि भएको छ, जुन १९८९ को मार्च यता कै सबैभन्दा ठूलो वृद्धिदर हो।
यसैबीच, औषधि, टेलिकम उपकरण र पेट्रोलको मूल्य घट्दा समग्र मुद्रास्फीति थोरै सन्तुलित भएको देखिएको छ। त्रैमासिक रूपमा हेर्दा, उपभोक्ता मूल्यहरू जुन त्रैमासको तुलनामा सेप्टेम्बर त्रैमासमा एक प्रतिशतले बढेका छन्। यो मुख्य रूपमा स्थानीय निकाय कर वृद्धि र मौसमी कारणले तरकारीको मूल्य १२.२ प्रतिशतले बढ्नुका कारण हो।