एसइईको नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने

एसइईको नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको जनाएको हो।

​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले अंक​ इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक/कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए।

आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो।

उनीहरूको आन्दोलन २९ दिनसम्म चल्यो। गत वैशाख १७ गते सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। रोकिएको एसइई उत्तरपुस्तिका परीक्षण कार्य पनि सुरू भएको थियो।

यही शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला भएको हो। परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो। तर,शिक्षक आन्दोलनले उत्तरपुस्तिका परीक्षण कार्य नै ढिलाइ भयो। बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन्। 

खबरपाटी
खबरपाटी