काठमाण्डौ – भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीबाट विस्थापित १९ परिवारलाई भोलि शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।
भक्तपुर प्रशासनले होल्डिङ सेन्टरमा सूचना टाँसेर विस्थापित परिवारलाई तोकिएको समयभित्र बाहिरिन निर्देशन दिएको हो ।
प्रशासनले जारी गरेको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र पालिकाबाट प्राप्त विवरणका आधारमा केही परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको उल्लेख छ ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार त्यस्ता ७ परिवार भूमिहीनको सूचीमा नपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको र त्यसको निस्सा प्राप्त भइसकेको प्रशासनको भनाइ छ ।
ती परिवारलाई सम्बन्धित पालिकाबाट प्राप्त निस्सा लिएर होल्डिङ सेन्टर छाड्न सूचनामा भनिएको छ । जग्गा नदेखिएका परिवारका हकमा नेपाल सरकारले घरभाडास्वरूप तोकिदिएको सुविधासमेत बुझ्न प्रशासनले भनेको छ ।
भक्तपुर बोडेको होल्डिङ सेन्टरमा थापाथलीबाट लगिएका १९ परिवारका ५९ जना बसिरहेका छन् । तीमध्ये १७ जना बालबालिका छन् ।
थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा गएको १२ वैशाखमा डोजर चलाइएको थियो । त्यसपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।
त्यसबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि ८ महिना बितिसक्दा पनि पुनःस्थापनाको टुंगो लागेको छैन ।