काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (मंसिर १०) गते पनि बस्दै छ ।
मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने भएको हो । बैठकमा प्रस्तुत एजेन्डा तथा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक आज बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा छलफलका लागि तय गरिएका विषयहरूमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका एजेन्डामाथि विस्तृत छलफल भइरहेको छ । साथै, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको समसामयिक राजनीतिक अवस्था तथा आगामी कार्यदिशाका विषयमा समेत केन्द्रीय सदस्यहरूले आफ्ना विचार र सुझाव राखिरहेका छन् ।