"एक्लै तर निःशक्त होइन: छोज्न्मोको थाङसेक यात्राको गाथा"

"एक्लै तर निःशक्त होइन: छोज्न्मोको थाङसेक यात्राको गाथा"

काठमाडौं-रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, थाङसेक। कञ्चन हिमालको छायाँमा, घना जंगल र एकान्त पथबीच उभिएको एउटा सानो गाउँ जहाँ जम्मा चार घर मात्रै छन्, जसले होटल व्यवसाय सञ्चालन गर्दैछन्। तीमध्ये एक होटल यति विशेष छ — त्यो होटलसँगै जोडिएको छ एक महिला, जसको जीवनले असम्भव भित्रको सम्भवको खोजी गरेको छ। उनी हुन् — छोज्न्मो लामा, ४२ वर्षीया एक्ली महिला, जसको साहसले थाङसेकमा उज्यालो बाँडेको छ।

छोज्न्मो औपचारिक शिक्षा नपाएकी महिला हुन्। विद्यालयको ढोका नाघ्न नपाएकी उनी विदेशी पर्यटकहरूसँग आत्मीय संवाद गर्न सक्ने क्षमता राख्छिन्। “शब्दभन्दा भावले काम गर्छ,” उनी मुस्कुराउँदै भन्छिन्। थाङसेक लाङटाङ हुँदै क्याँजिन री जाने पदयात्रीहरूका लागि थकान मेट्ने विश्रामस्थल हो, जहाँ छोज्न्मोले बनाएका परिकारहरूले यात्राको स्वाद झन् मीठो बनाइदिन्छन्।

तर उनको जीवन यति सरल थिएन। २०७२ सालको विनाशकारी भूकम्पले छोज्न्मोको संसार भत्काइदियो। त्यही दिन उनले आफ्ना श्रीमान गुमाइन्। श्रीमानको परिवारले सञ्चालन गरेको सानो होटल अब उनको काँधमा आयो। शून्यबाट सुरु गरेकी छोज्न्मोले राज्यबाट प्राप्त ३ लाख रुपैयाँलाई आधार मानेर व्यवसाय उठाइन्। अहिले त्यो होटल २०–२५ जनासम्म अट्ने सुविधायुक्त संरचना बनिसकेको छ।

छोज्न्मोका तीन सन्तान छन्, जो हाल काकासँग बसिरहेका छन्। उनी भने जंगलको बीचमा, बजार टाढा छ, अस्पताल पुग्न आठ–नौ घण्टा पैदल हिंड्नुपर्छ, त्यहाँ एक्लै होटल चलाउँछिन्। दिनभर पाहुनाको सेवा, खाना बनाउने, कोठा सफा गर्ने, राति आगो ताप्ने—सबै काम उनी आफ्नै हातले गर्छिन्। “दुख छ तर म यही रमाउँछु,” भन्छिन् उनी।

पर्यटक आउँछन्, रमाइला कुरा गर्छन्, र फर्किन्छन्। तर छोज्न्मोलाई उनीहरूसँग बिताएका पलहरूले जीवनको एकान्त क्षणहरू सजाउने प्रेरणा दिन्छन्। “उनीहरू आउँदा म एक्लो महसुस गर्दिन, साथ पाएजस्तो लाग्छ,” भन्छिन् उनी।

विदेशमा रहेका आफन्तहरूले उनलाई थाङसेक छोडेर बाहिर जान आग्रह गर्छन्। तर छोज्न्मो भन्छिन्, “म यो ठाउँ छोड्न सक्दिन। यही मेरो संसार हो, यही मेरो जीवन हो।”

उनी सामाजिक भावनाले पनि भरिपूर्ण छिन्। पर्यटकलाई स्वास्थ्यमा समस्या आएमा जडिबुटीको सहायता गर्छिन्, कसैको जुत्ता च्यातिएमा सिलाइदिन्छिन्। “कसैको काम गर्न पाएपछि मनमा सन्तोष मिल्छ,” उनी भन्छिन्।

उनको जीवन सधैं सहज थिएन। खेतिपाती छैन, बजार छैन, बिरामी हुँदा समयमै उपचार पाउनु चुनौती हो। तर, यी सबै चुनौतीहरूका बीच पनि उनी मुस्कुराउँदै जीवनलाई अगाडि बढाइरहेकी छन्। जब बच्चाहरूको स्याहार गर्न नसकेको पीडा सम्झिन्छिन्, आँखाभरि आँसु आउँछ। तर त्यो आँसुभित्र पनि आत्मबल मिसिएको हुन्छ।

छोज्न्मो भन्छिन्, “जिन्दगी हो, बाँचुञ्जेल हातखुट्टा चलाउनु पर्छ। आफैं राम्रो भयो भने संसार राम्रो लाग्छ।”

उनको कथा कुनै सामान्य जीवनको कथा होइन — यो हो साहस, आत्मनिर्भरता, र समर्पणको कथा। जंगलको बीचबाट आफ्नै उज्यालो आफैंले सिर्जना गरेकी छोज्न्मोजस्तो महिलाहरू नै साँचो अर्थमा यो देशका प्रेरणास्तम्भ हुन् ।

✍️ कल्पना  सानु भट्टराई

 

खबरपाटी
खबरपाटी