
रसुवा- नेपालका हिमाली भूगोलमा बसेका मानिसहरूलाई हामी कहिले काँही केवल पर्यटकीय चश्माले हेर्छौं—हिउँले ढाकिएका गाउँ, बौद्ध झण्डा फर्फराउँदा सुन्दर फोटोहरू, अनि न्यानो चिया पस्किने अनुहारहरू। तर ती दृश्यहरूभित्र लुकेका कथाहरू, संघर्षका तहहरू, र त्यागका धुनहरू हामी सायद छुनै सक्दैनौं ।
छिरींमा शेर्पा — २५ वर्षीया एक आमाको जीवन, लाङटाङको क्याँजिन गोम्पामा, यस्तै एउटा मौन तर गहिरो कथा हो जसले हामीलाई बाँच्न सिकाउँछ, माया गर्न सिकाउँछ, अनि निरन्तरता भन्नुको अर्थ बुझाउँछ ।
लाङटाङको क्याँजिन गोम्पा पुग्दा हिउँका टाकुराहरू गगन चुम्दै थिए, मौसम चिसो थियो, र सास गह्रौँ। तर त्यही उचाइमा एउटा मुस्कानको तापले हाम्रो आत्मासम्म न्यानो बनायो —
उनी थिइन्, छिरींमा शेर्पा।
पहिलोपटक भेट्दा उनी हाम्रो लागि तातो पानी लिएर आइन्। अनुहारमा कुनै बनावटीपन थिएन, त्यो हाँसो यति साँचो थियो कि शहरमा दिनदिनै देखिने थकाइ र बनावटी शिष्टाचारको धुलो झार्ने जस्तो लाग्थ्यो।
छिरींमाको होटलमा बस्ने निधो भयो, र उनको शालीन व्यवहारले हामीलाई एक किसिमको सहजता दिएको थियो। तर त्यो सहजताको आडमा एउटा गहिरो कहानी थियो — जुन चिया कपको वाफजस्तै मुनि-मुनि तातिरहेको थियो।
ओखलढुंगामा जन्मिएकी छिरींमाको बाल्यकाल साधारण थियो। त्यहीँ उनको बिहे भयो, त्यहीँ उनको पाँच वर्षको छोरा जन्मियो। उनले शिक्षाको औपचारिक ढोका पार गर्न पाइएनन्, तर अक्षर चिन्छिन्।
"म अक्षर त चिन्छु, छोरा चाहिँ पढाइदिन्छु, ठूलो मान्छे बनाउँछु भन्ने चाहना छ," उनी भन्छिन्।
तर यो चाहनालाई थाम्न सजिलो थिएन। घरमा श्रीमान् थिए, तर आम्दानी अत्यन्त न्यून। बुढाबाआमा बिरामी पर्थे। अनि उनका आँखामा उर्लिने छोराको भविष्य — यी सबै मिलेर उनले रोजिन् एक फरक बाटो।
"काम गर्न, छोराको होस्टेलको खर्च धान्न लाङटाङ आएँ," उनी भन्छिन्। त्यो निर्णय सायद सजिलो थिएन — शहर पनि होइन, विदेश पनि होइन — उनी पुगेकी थिइन् हिमालमुनिको क्याँजिन गोम्पा, जहाँ सुविधाको परिभाषा नै फरक छ।
छिरींमा अहिले क्याँजिन गोम्पाको एक होटलमा काम गर्छिन्। बिहान सबेरै उठ्छिन्, पाहुनाका लागि चिया बनाउँछिन्, भाँडा माझ्छिन्, ओछ्यान मिलाउँछिन्।
यो सारा दिनचर्या कहिल्यै थाक्दैन — किनभने उनका आँखामा निदाउने अधिकार छैन, जबसम्म छोराको सपना साकार हुँदैन।
त्यहाँ बाटो छैन, अस्पताल छैन, न त नियमित आपूर्ति नै।
हिउँदमा जाडो कठोर हुन्छ। तर उनी भन्छिन्,
"गाह्रो त छ, तर फर्कन मन लाग्दैन। छोरा राम्रोसँग पढिरहेको छ भन्ने थाहा पाउँदा त सारा थकान हराउँछ।"
यो कथाले हाम्रो 'आवश्यकता' को परिभाषा फेरिन्छ। हामी जति सुविधा खोज्दै हिंड्छौं, उनी त्यति नै सहज जीवन छाडेर 'जिम्मेवारी' तिर हिँडिरहेकी छिन्।
छिरींमा कहिल्यै नतिजामा होइन, प्रक्रियामा विश्वास गर्छिन्। उनी आफूलाई 'साधारण' भन्छिन्, तर त्यो साधारणताको गहिराइ भने असाधारण छ।
एकपटक उनले भनिन्,
"छोरा भोलि मसँग गर्व गरोस् भन्ने चाहना हो। अब म केही गरिरहेकी छु भनेर महसुस गरोस्।"यी शब्दहरूमा आमाको अस्तित्व मात्र छैन, एउटा सम्पूर्ण दर्शन छ — त्याग, धैर्य, र नारीत्वको परिभाषा ।
छिरींमाको कथा कुनै अन्तर्राष्ट्रिय पुरस्कारको चर्चा होइन। उनी कुनै पदक विजेता होइनन्, न त मिडियाको प्राथमिकतामा पर्ने अनुहार।
तर उनले दिएको पाठ, उनले देखाएको संकल्प, उनले बाँचेको निःशब्द बलिदान — यी सबैले उनलाई एक नायक बनाउँछन्। उनी जति चिच्याएर बोलेकी छैनन्, त्यति नै चुपचाप हाम्रो चेतना हल्लाउने गरी बसिरहेकी छिन् ।
लाङटाङको चिसो हावामा छिरींमाको चिया कपबाहेक तातो केही छैन।
तर त्यो चियाले शरीर मात्र होइन, आत्मासमेत न्यानो पार्छ।
हामी बाँच्ने तरिका, हेर्ने दृष्टि र सफलताको मापनसमेत फेरिन्छ छिरींमाको मुस्कानले।
यो लेख पढिरहँदा तपाईं कतै काठमाडौँमा हतारमा हुनुहुन्छ होला, वा विदेशको एयरपोर्टमा।
तर छिरींमाले हामीलाई सम्झाइरहेकी छिन् —
"सपना हेर्न ठूला शहर जानुपर्दैन, कहिले काँही त सपना आमाको चुलोबाट सुरु हुन्छ।"
✍️ कल्पना सानु भट्टराई