आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने, बचतको ब्याज घट्यो

सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो

आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने, बचतको ब्याज घट्यो

काठमाडौं । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ ।

सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो ।

अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ । यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो ।

अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ । बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम भइहाल्छ। चैत १ गतेबाटै बचतको ब्याज कम हुने छ। यसले करिव ६ अर्ब रुपैयाँ खर्च घट्ने बैंकहरुको अनुमान छ ।

मुद्दति निक्षेपको ब्याज भने यथावत राखिएको छ । बैंकरले संस्थागत मुद्दति निक्षेपको ब्याज दर तीन महिनादेखि एक बर्षसम्म समान भएको भन्दै छोटो अवधिको मुद्दतिको ब्याज घटाउने तयारी गरेका थिए। तर छलफलमा कुरा उठे पनि निर्णय भने हुन सकेन ।

ऋणको प्रिमियम पनि बैंकले घटाएका छन् । अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ । यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो । केही बैंकले साढे ८ प्रतिशतसम्म प्रकाशित गरेपछि निक्कै आलोचित पनि भएको थियो ।

मानौ अब आधार दर १० प्रतिशत छ भने बैंकहरुले बढिमा ५ प्रतिशत थपेर ब्याज १५ प्रतिशतसम्म लिन पाउँछन्। यद्यपी यो सबै ऋणीलाई होइन। जोखिम धेरै भएका ऋणीहरुका हकमा यो लागू हुने छ ।

बैंकहरुले गत माघमा पनि ब्याज दर घटाएका थिए । १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत झारेका थिए।

निक्षेपको ब्याज घटेपनि आधार दरमा समायोजन भइसकेको थिएन । अब माघ र चैतको एकैपटक समायोजन हुने छ। यसो हुँदा ऋणको ब्याज दर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने छ।

खबरपाटी
खबरपाटी