अरुण-३ जलविद्युत् परियोजनको भौतिक प्रगति ६१ प्रतिशत

२०७५ मा निर्माण सुरु भएको यस आयोजना पाँच वर्षमा सक्ने लक्ष्य राखिएको छ

अरुण-३ जलविद्युत् परियोजनको भौतिक प्रगति ६१ प्रतिशत

काठमाडौँ । अरुण तेस्रो जलविद्युत् परियोजनाको भौतिक प्रगति ६१ प्रतिशत पुगेको छ । भारतीय कम्पनी सतलज जलविद्युत्‌ले संखुवासभामा ९ सय मेगावाट क्षमताको यो परियोजना बनाइरहेको छ । सतलजले नेपालमा अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना गरी सो आयोजना बनाइरहेको हो । २०७५ मा निर्माण सुरु भएको यस आयोजना पाँच वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीले परियोजना विद्युत् गृहदेखि भारतको सीतामढीसम्म ४ सय केभी क्षमताको कुल २५३ किलोमिटर लामो अन्तरदेशीय प्रसारणलाइन समेत सँगसँगै निर्माण गरिरहेको छ । यसैबीच नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एन–म्यारी ट्रेवेलियनले परियोजनाको भ्रमण गरेकी छन् । उनले परियोजनाको विद्युत् गृह स्थल तथा ट्रान्सफर्मर वे को अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नेतर्फ उन्मुख रहेको बताइन् ।

उनले जलविद्युत् उत्पादनमा तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जामा क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको समेत बताइन् । राष्ट्रिय महत्त्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने ुनोडल एजेन्सीुको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले उक्त प्राविधिक सहयोगलाई निरन्तरता दिने समेत उनले बताइन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत् परियोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुंगा रहेको उल्लेख गरे । बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सबै सहजीकरण गरेको बताए । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत् परियोजनाहरूले यस क्षेत्रको विद्युत् माग सम्बोधनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

खबरपाटी
खबरपाटी