कृषिमा ६६ प्रतिशत योगदान महिलाको, तर भूमि र स्रोतमा अझै कमजोर पहुँच

कृषिमा ६६ प्रतिशत योगदान महिलाको, तर भूमि र स्रोतमा अझै कमजोर पहुँच

काठमाडौं - नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेख्य रहे पनि उनीहरूले भूमि, वित्तीय स्रोत, प्रविधि, अनुदान तथा बजारमा पर्याप्त पहुँच पाउन नसकेको सरोकारवालाले बताएका छन् । कृषि उत्पादनदेखि बीउबिजन संरक्षण, खाद्य व्यवस्थापन र परिवारको पोषण सुरक्षासम्म महिलाको भूमिका महत्वपूर्ण भए पनि कृषि नीतिनिर्माण र स्रोत वितरणमा उनीहरूलाई अपेक्षित प्राथमिकता नदिइएको उनीहरूको भनाइ छ ।

खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) को सहकार्यमा आइतबार काठमाडौंमा आयोजित ‘महिला साना किसानको कृषि क्षेत्रमा योगदान’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले महिला किसानको योगदानको उचित मूल्याङ्कन गर्दै उनीहरूको अधिकार र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले कृषि क्षेत्रलाई दिगो, आत्मनिर्भर र वातावरणमैत्री बनाउन महिला किसानको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनीहरूले परम्परागत बीउबिजनको संरक्षण, जैविक मलको प्रयोग, रासायनिक विषादीको न्यूनीकरण, भूमिमा महिलाको स्वामित्व र वास्तविक किसानसम्म सरकारी अनुदान पु¥याउने विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

कृषि उत्पादनदेखि खाद्य व्यवस्थापनसम्म महिलाको महत्वपूर्ण भूमिका

दिगो कृषि अभ्यासकर्ता निमा याङ्छिन लामाले कृषि क्षेत्रमा महिलाको योगदान खेतीपातीमा मात्र सीमित नभई परिवारको दैनिक खाद्य व्यवस्थापनदेखि बीउबिजन संरक्षणसम्म फैलिएको बताइन् ।

उनका अनुसार महिलाहरू बिहान उठेदेखि राति सुत्ने बेलासम्म परिवार र कृषि व्यवस्थापनका विभिन्न काममा संलग्न हुन्छन् । भान्सामा के पकाउने भन्ने योजना बनाउनेदेखि त्यसका लागि आवश्यक खाद्यान्न जुटाउने, अन्न तथा बीउबिजन बचाएर राख्ने र परिवारलाई वर्षभरि पुग्ने गरी खाद्यान्न व्यवस्थापन गर्ने जिम्मेवारीसमेत महिलाले निर्वाह गर्दै आएका छन् ।

‘महिलाको काम खेतबारीमा मात्रै सीमित छैन । परिवारलाई के खुवाउने, त्यसका लागि कति अन्न चाहिन्छ, कुन बीउ अर्को वर्षका लागि बचाएर राख्ने भन्नेसम्मका काम महिलाले गरिरहेका हुन्छन्,’ उनले भनिन् ।

ग्रामीण क्षेत्रमा रोजगारीका अवसरको अभाव र वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै जाँदा कृषि क्षेत्रको जिम्मेवारी थप महिलाको काँधमा आएको उनको भनाइ छ । तर कृषि व्यवसाय सञ्चालन गर्न आवश्यक ऋण तथा वित्तीय स्रोतमा महिलाको पहुँच कमजोर रहेको उनले बताइन् । ऋण लिन खोज्दा पनि पुरुषको तुलनामा महिलालाई सहज पहुँच नभएको उनको अनुभव छ ।

लामाले आफू विगत १० वर्षदेखि श्रीमान्सँगै कृषि क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै इच्छाशक्ति र मेहनत भए व्यावसायिक कृषि गर्न सकिने बताइन् । अहिले आफूले भाडामा लिएको करिब ३० देखि ४० रोपनी जग्गामा खेती गर्दै आएको र कामदारसमेत राखेर कृषि व्यवसाय सञ्चालन गरिरहेको उनले जानकारी दिइन् ।

उनका अनुसार दिगो कृषि भनेको कुनै एउटा बाली वा उत्पादनमा मात्र निर्भर नभई कृषि प्रणालीका विभिन्न पक्षलाई एकआपसमा जोडेर अघि बढाउने अभ्यास हो । परम्परागत कृषि प्रणालीमा गाईभैँसी पालन, गोबर मलको प्रयोग, करेसाबारीमा तरकारी उत्पादन र भान्सामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारीको व्यवस्थापनबीच प्राकृतिक सम्बन्ध कायम थियो । यसले किसानलाई बाह्य स्रोतमा कम निर्भर बनाएको थियो ।

तर आधुनिक कृषि अभ्याससँगै यस्तो परम्परागत चक्र कमजोर हुँदै गएको उनले बताइन् । आफ्नो फार्ममा पनि भान्सामा आवश्यक पर्ने अधिकांश तरकारी उत्पादन हुने भएकाले बाहिरबाट तरकारी किन्नुपर्ने अवस्था कम भएको र मलका लागि पनि बाह्य स्रोतमा निर्भर हुन नपरेको उनको भनाइ छ ।

‘दिगो कृषि एकैपटक सम्भव हुँदैन । यसका लागि केही समय र मेहनत आवश्यक पर्छ । तर अहिले गरेको मेहनतले भविष्यमा राम्रो परिणाम दिन्छ,’ उनले भनिन् ।

उनले पछिल्लो समय रैथाने बीउबिजन लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपलब्ध बीउको संरक्षणमा महिला किसानको भूमिका महत्वपूर्ण रहेको बताइन् । कृषि यान्त्रिकीकरणलाई पनि ठूला मेसिनमा मात्र केन्द्रित नगरी महिला किसानले सहज रूपमा प्रयोग गर्न सक्ने साना तथा उपयोगी प्रविधिको विकास गर्नुपर्ने उनको सुझाव छ ।

नेपालको भौगोलिक अवस्था र स्वास्थ्यका दृष्टिले पनि प्रकृतिमैत्री खेती उपयुक्त हुने उनको भनाइ छ । रासायनिक मलमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई जैविक तथा प्राकृतिक मलको प्रयोगले घटाउन सक्ने उनले बताइन् ।

यद्यपि प्रकृतिमैत्री उत्पादनले बजार पाउँछ कि पाउँदैन भन्ने किसानको चिन्ता सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरिन् । त्यसका लागि स्थानीय हाटबजारको प्रवद्र्धन, होमस्टेमा स्थानीय उत्पादनको प्रयोग र आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कृषि उपजसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

‘भूमिमा महिलाको स्वामित्वले सामाजिक र राजनीतिक अधिकार बलियो बनाउँछ’

राष्ट्रिय भूमि अधिकार मञ्चकी राष्ट्रिय कोषाध्यक्ष पातली थामीे महिलाको नाममा जग्गाको स्वामित्व नहुँदा उनीहरू परिवार र समाजमा समेत कमजोर अवस्थामा रहनुपरेको बताइन् ।

उनका अनुसार महिलाको नाममा भूमि अधिकार सुनिश्चित हुँदा उनीहरूको आर्थिक अवस्थासँगै राजनीतिक र सामाजिक हैसियतसमेत बलियो हुन्छ । भूमिको स्वामित्वले महिलालाई घरपरिवारको सदस्यका रूपमा निर्णय प्रक्रियामा सहभागी हुन र आफ्नो अधिकार स्थापित गर्न सहयोग पु¥याउने उनले बताइन् ।

आफू पनि भूमिहीन परिवारमा जन्मिएको अनुभव सुनाउँदै उनले महिलाको नाममा जमिनको स्वामित्व स्थापित गर्ने अभियानमा काम गर्दै आएको बताइन् ।

‘महिलाको नाममा जमिन भयो भने उनीहरूलाई हेर्ने सामाजिक र राजनीतिक दृष्टिकोण नै फरक हुन्छ । भूमिमा महिलाको अधिकार स्थापित हुनु भनेको उनीहरूको समग्र अधिकार स्थापित हुनु हो,’ उनले भनिन् ।

महिलाको नाममा जग्गा राख्दा राजस्व तथा मालपोतमा सहुलियत पाइने व्यवस्थाका कारण पछिल्लो समय महिलाको नाममा जग्गा राख्ने क्रम बढेको भए पनि त्यसलाई वास्तविक भूमि अधिकारका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । महिलाको नाममा जग्गा दर्ता हुँदैमा उनीहरूले त्यसको वास्तविक उपयोग र निर्णय गर्ने अधिकार पाएका छन् भन्ने सुनिश्चित नहुने उनले बताइन् ।

थानीले परम्परागत खेती प्रणाली र अहिलेको कृषि अभ्यासमा ठूलो भिन्नता आएको उल्लेख गर्दै उत्पादन बढाउने नाममा रासायनिक विषादी तथा मलको प्रयोग बढ्दा मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको बताइन् ।

परम्परागत रूपमा गाईभैँसीको गोबर मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज र रासायनिक मल तथा विषादीको प्रयोगबाट उत्पादन गरिएका उपजमा गुणस्तरको भिन्नता हुने उनको भनाइ छ । पछिल्लो समय गाउँघरमा पशुपालन घट्दै जाँदा जैविक मलको उपलब्धता कम भएको र किसान रासायनिक मल तथा विषादीमा निर्भर हुन थालेको उनले बताइन् ।

उनले अहिलेको कृषि क्षेत्रको अर्को विडम्बना भनेको जग्गा हुनेले खेती नगर्ने र जग्गा नहुनेले खेती गर्ने अवस्था रहेको बताइन् । खेती गर्ने किसानकै नाममा जमिनको स्वामित्व हुनुपर्ने उनको धारणा छ ।

सरकारले वितरण गर्ने कृषि अनुदानसमेत वास्तविक किसानसम्म नपुगेको भन्दै उनले अनुदान वितरणअघि किसानको पहिचान र वर्गीकरण गर्नुपर्ने बताइन् ।

‘सरकारले दिने अनुदान वास्तविक किसानले भन्दा पनि नक्कली किसानले पाउने अवस्था छ । त्यसैले सरकारले वास्तविक किसानको पहिचान गरेर उनीहरूकै हातमा अनुदान पुग्ने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।

उनले उत्पादन वृद्धि र परम्परागत खेती प्रणालीको संरक्षणलाई एकअर्काको प्रतिस्पर्धीका रूपमा नभई एकअर्कालाई सहयोग गर्ने विषयका रूपमा लिनुपर्ने बताइन् । रैथाने बीउबिजनको संरक्षण, विषादीको प्रयोग न्यूनीकरण र बाँझो जमिनमा खेती गर्ने वातावरण बनाउन सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।

कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले नेपालको कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत रहेको उल्लेख गर्दै कृषि विकासका योजना तथा कार्यक्रममा महिला किसानलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनका अनुसार महासंघले आफ्नो करिब ७० प्रतिशत काम महिला किसानको हकहित र अधिकारका विषयमा केन्द्रित गर्दै आएको छ । महिलाको नाममा जमिनको स्वामित्व स्थापित हुँदा उनीहरूमा आफ्नो श्रम र उत्पादनप्रति अपनत्व बढ्ने उनले बताए ।

महिला किसानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूको कृषि क्षेत्रमा सहभागिता र निर्णय गर्ने अधिकार बढाउनुपर्ने उनको भनाइ छ । महासंघले किसानको सूचीकरण तथा वर्गीकरणको विषय उठाउँदै आएको र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

श्रेष्ठले पछिल्लो समय परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिले विस्थापित गर्दै जाँदा कृषि जैविक विविधता र स्थानीय उत्पादन प्रणालीमा असर परेको बताए । यसले भविष्यमा खाद्य सुरक्षामा समेत चुनौती सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

उनले प्रकृतिमैत्री तथा जलवायुमैत्री खेती प्रणालीको विकासका लागि महासंघले सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिए । रासायनिक मलमा ठूलो रकम खर्च गर्नुको सट्टा जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

‘रासायनिक मलमा अर्बौं रुपैयाँ खर्च गर्नुभन्दा जैविक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । प्रत्येक किसानको घरमा गाईभैँसी पालन गर्ने वातावरण बनाउने नीति ल्याउन सके मलको विकल्पसमेत तयार हुन्छ,’ उनले भने ।

उनले रासायनिक मलको कारखाना स्थापना गर्ने सरकारी योजनाप्रति असहमति जनाउँदै जैविक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकारलाई आग्रह गरे । रासायनिक मलको कारखाना खोल्नुभन्दा त्यसले उत्पादन गर्ने मलको दीर्घकालीन व्यवस्थापन, माटोको स्वास्थ्य र वातावरणमा पर्ने असरबारे पनि विचार गर्नुपर्ने उनले बताए ।

कृषि क्षेत्रको विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उनले राज्यले नै प्रकृतिमैत्री खेती प्रणालीलाई प्राथमिकतामा नराखेसम्म अपेक्षित सुधार सम्भव नहुने बताए ।

कृषि जैविक विविधता ५० प्रतिशत नष्ट, खाद्य सुरक्षामा चुनौती

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले नेपालको कृषि प्रणालीमा आएको परिवर्तनले परम्परागत खाद्य उत्पादन प्रणाली र जैविक विविधता कमजोर बन्दै गएको बताए ।

उनका अनुसार विगतमा नाकाबन्दी तथा विभिन्न संकटका समयमा समेत नेपालले स्थानीय उत्पादन र रैथाने बालीका कारण खाद्य संकटको सामना गर्नुपर्ने अवस्था तुलनात्मक रूपमा कम थियो । तर पछिल्लो समय यान्त्रिकीकरण र आधुनिक कृषि प्रणालीका नाममा रैथाने बाली तथा परम्परागत बीउबिजन नष्ट हुँदै जाँदा खाद्य सुरक्षामा चुनौती थपिएको छ ।

उनले कृषि जैविक विविधता करिब ५० प्रतिशत नष्ट भइसकेको उल्लेख गर्दै यसको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने बताए । उनका अनुसार अहिले पनि करिब १२ देखि १३ प्रतिशत नागरिक भोकमरीको अवस्थामा रहेको तथ्यले नेपालको खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको देखाउँछ ।

अधिकारीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप जोखिम सिर्जना भइरहेको उल्लेख गर्दै नेपालले प्रकृतिमैत्री तथा जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्नुपर्ने बताए । तर सरकारका कृषि नीति तथा बजेटमा अझै पनि रासायनिक मलको प्रयोग र उद्योग स्थापनालाई बढी प्राथमिकता दिइएको उनको भनाइ छ ।

‘आजसम्म नेपालको कृषि महिलाहरूले नै धानेका छन् । तर पछिल्लो पुस्ता कृषि क्षेत्रबाट बाहिरिँदै गएको छ । यसलाई रोक्न परिवारदेखि राज्यसम्मले जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।

कृषि क्षेत्रको संरक्षण र रूपान्तरणका लागि विद्यालय तहको पाठ्यक्रममै कृषि, खाद्य प्रणाली, रैथाने बाली र जैविक विविधताका विषय समेट्नुपर्ने उनले बताए । घरलाई पहिलो पाठशालाका रूपमा विकास गर्दै बालबालिकालाई सानैदेखि कृषि र खाद्य उत्पादनको महत्व बुझाउन आवश्यक रहेको उनको भनाइ छ । उनले जलवायु संकटले कृषि उत्पादनमा मात्र नभई मानव स्वास्थ्यमा समेत असर पारिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सरकारले प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताए ।

अधिकारीले किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउनसमेत कठिनाइ भइरहेको भन्दै उत्पादनसँगै वितरण प्रणाली र बजार व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताए । किसानको उत्पादनले उचित बजार र मूल्य नपाएसम्म नेपालको कृषि क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्ने र भविष्यमा खाद्य संकटको जोखिम बढ्ने उनको भनाइ छ ।

उनले महिला वर्षको सन्दर्भमा महिला किसानको श्रम र योगदानको सम्मान गर्नुपर्ने बताउँदै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको उल्लेख गरे । सरकारले रासायनिक मलमा केन्द्रित नीति परिवर्तन गरी जैविक मल, प्राङ्गारिक खेती र माटोको स्वास्थ्य सुधारमा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।

महिला किसानमैत्री नीति र वास्तविक किसानको पहिचान आवश्यक

कार्यक्रममा सहभागी वक्ताहरूले महिला किसानको योगदानलाई कृषि उत्पादनको तथ्याङ्कमा मात्र सीमित नराखी उनीहरूको श्रमको उचित मूल्याङ्कन, भूमिमा स्वामित्व, वित्तीय पहुँच र बजारमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

कृषिमा महिलाको जिम्मेवारी बढ्दै गए पनि उनीहरूले उत्पादनका साधन, प्रविधि र सरकारी सेवासुविधामा समान पहुँच पाउन नसकेको उनीहरूको निष्कर्ष थियो । त्यसैले महिला किसानमैत्री कृषि नीति, सहुलियतपूर्ण ऋण, उत्पादनमा आधारित अनुदान र स्थानीय बजारको प्रवद्र्धनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमको सहजीकरण अनाजका अध्यक्ष किरण आचार्यले गरेका थिए ।

खबरपाटी
खबरपाटी