इरानले अमेरिकी सेनाविरुद्धको आक्रमणमा स्टारलिंक प्रयोग गरेको खुलासा, मस्क असन्तुष्ट

इरानले अमेरिकी सेनाविरुद्धको आक्रमणमा स्टारलिंक प्रयोग गरेको खुलासा, मस्क असन्तुष्ट

इरानले अमेरिकी सेनाविरुद्ध सैन्य आक्रमणकोक्रममा एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चालन गरेको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक प्रयोग गरेको खुलासा भएको छ ।

अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्टका अनुसार इरानले सैन्य सञ्चार व्यवस्थापन, आफ्ना सैनिकको गतिविधि नियन्त्रण तथा एकतर्फी आक्रमणकारी ड्रोन सञ्चालनका लागि स्टारलिंक प्रयोग गरेको हो ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरु गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।

त्यही क्रममा स्टारलिंकको अनधिकृत प्रयोग भएको जानकारी पाएपछि मस्क असन्तुष्ट बनेको खबरमा उल्लेख छ । मस्कले इरानको प्रयोगप्रति असन्तुष्टि जनाउनुका साथै अमेरिकी सेनाले पनि आफ्नो सैन्य सञ्चार प्रणाली स्टारसिल्डको निर्धारित योजनाविपरीत प्रयोग गरेको थाहा पाएको उल्लेख छ ।

अमेरिकी सेनाले प्रयोग गरेको एलयूसीएएस नामक कम लागतको आक्रमणकारी ड्रोनमा स्टारसिल्ड प्रयोग गरिएको थियो । यसअघि रुसले पनि युक्रेनविरुद्धको युद्धमा स्टारलिंक जडित ड्रोन प्रयोग गरेको पाइएको थियो ।

त्यसपछि युक्रेनको आग्रहमा स्पेसएक्सले तीव्र गतिमा उड्ने स्टारलिंक टर्मिनलको सेवा रोक्ने तथा युक्रेनमा स्वीकृत उपकरणलाई मात्रै सेवा दिने व्यवस्था गरेको थियो । स्टारलिंकको अनधिकृत प्रयोग रोक्न स्पेसएक्सले ग्राहकको पहिचान अनिवार्य गर्ने र अनधिकृत पुनर्विक्रेतामार्फत उपकरण बिक्री हुने व्यवस्था नियन्त्रण गर्ने कदम पनि चालेको छ ।

यो घटनाले निजी कम्पनीको नियन्त्रणमा रहेको स्याटेलाइट सञ्चार प्रविधि आधुनिक युद्धमा कति महत्त्वपूर्ण बनेको छ र त्यसको दुरुपयोगले राष्ट्रिय सुरक्षामा कस्तो चुनौती सिर्जना गर्न सक्छ भन्ने प्रश्न उठाएको छ ।

 

खबरपाटी
खबरपाटी