अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि विश्व अर्थतन्त्रमा यसको प्रभाव पर्न सक्ने

अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि विश्व अर्थतन्त्रमा यसको प्रभाव पर्न सक्ने

काठमाण्डौ – अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि विश्व अर्थतन्त्रमा यसको प्रभाव पर्न सक्ने देखिएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप वृद्धि गर्न सक्ने सङ्केत देखिएसँगै विश्व वित्तीय बजार, अन्तर्राष्ट्रिय व्यापार र विकासोन्मुख देशहरुको अर्थतन्त्रमा समेत दबाब बढ्ने जोखिम देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकामा गएको अक्टोबर महिनामा व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर ३ दशमलव ८ प्रतिशत पुगेको छ । यो  अघिल्लो महिना सेप्टेम्बरको तुलनामा शून्य दशमलव १ प्रतिशत विन्दुले बढी हो ।

फेडरल रिजर्भले मुद्रास्फीति मापनका लागि प्राथमिकता दिने यो सूचकांकको वृद्धिदर उसको २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर हो । अमेरिकामा मुद्रास्फीति बढ्नुको प्रमुख कारण उपभोग खर्चमा निरन्तर वृद्धि, आयातमा लगाइएका भन्सार शुल्क र भूराजनीतिक तनावका कारण बढेको लागतलाई मानिएको छ ।

अमेरिकामा ब्याजदर वृद्धि भए त्यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा मात्र सीमित रहने छैन ।

विश्वका लगानीकर्ताले अमेरिकी वित्तीय बजारमा बढी प्रतिफल पाउने सम्भावना हुँदा विकासोन्मुख तथा उदीयमान अर्थतन्त्रबाट पुँजी बाहिरिने जोखिम बढ्न सक्छ । यसले ती देशको मुद्रा कमजोर बनाउने, विदेशी लगानी घटाउने र अन्तर्राष्ट्रिय ऋण महँगो बनाउने दबाब सिर्जना गर्न सक्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्ययनले पनि अमेरिकी मौद्रिक नीतिमा हुने कडाइले उदीयमान अर्थतन्त्रको पुँजी प्रवाह र वित्तीय अवस्थालाई प्रभावित पार्न सक्ने देखाएका छन् ।  

यसैबीच, अमेरिकामा जीवनयापन खर्चको दबाब कायम रहँदा पेट्रोलियम पदार्थको मूल्य र मध्यपूर्वको द्वन्द्वले विश्व अर्थतन्त्रको अनिश्चितता थप बढाएको छ । 

 

खबरपाटी
खबरपाटी