दाना महँगिँदा किसान मारमा, वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारसँग संघको माग

दाना महँगिँदा किसान मारमा, वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारसँग संघको माग

काठमाडौं - पशु आहार (दाना) को निरन्तर मूल्यवृद्धिले पशुपालन तथा दुग्ध उत्पादन क्षेत्र प्रभावित भएको भन्दै नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघले मूल्य नियन्त्रण, गुणस्तर सुनिश्चितता र वैज्ञानिक मूल्य निर्धारणका लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ।

संघले दानाको मूल्यवृद्धिका कारण गाईभैँसीपालन तथा दुग्ध उत्पादन गर्ने किसानको उत्पादन लागत अत्यधिक बढेको तर दूधको मूल्य र किसानले प्राप्त गर्ने प्रतिफल सोही अनुपातमा समायोजन हुन नसकेको जनाएको छ।

संघका अनुसार दानाको मूल्यवृद्धि केवल उद्योग वा व्यवसायको विषय नभई किसानको आय, दुग्ध उत्पादन, उपभोक्ताको क्रयशक्ति र समग्र खाद्य तथा पोषण सुरक्षासँग जोडिएको राष्ट्रिय सरोकारको विषय हो।

राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको विवरणअनुसार नेपालमा विगतमा ११८ वटा साना तथा मझौला पशु आहार उद्योग सञ्चालनमा रहेका र दैनिक औसत २ हजार ६ सय मेट्रिक टन दाना उत्पादन हुने उल्लेख छ। यद्यपि विभिन्न सरकारी तथा निजी अभिलेखमा उद्योगको संख्या फरक देखिएकाले वास्तविक रूपमा सञ्चालनमा रहेका उद्योग, उत्पादन क्षमता र बजार हिस्साको अद्यावधिक विवरण सार्वजनिक गर्न संघले माग गरेको छ।

नेपालमा दाना उत्पादनका लागि आवश्यक मकै र भटमासको ठूलो हिस्सा आयातमा निर्भर रहेको छ। सरकारी विवरणअनुसार मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड एडिटिभ र सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको छ। यसले पशु आहार उद्योगमा रहेको आयात निर्भरता र कच्चापदार्थको मूल्यले पार्ने प्रभावलाई उजागर गरेको संघको भनाइ छ।

पछिल्लो बजार विवरणअनुसार भारतीय मकैको मूल्य प्रतिकिलो ३९ रुपैयाँबाट बढेर ५४ रुपैयाँ पुगेको छ भने स्वदेशी मकैको मूल्य ३६ रुपैयाँबाट बढेर ५० रुपैयाँभन्दा माथि पुगेको छ। भटमासको पिनालगायत अन्य कच्चापदार्थको मूल्यसमेत बढ्दा दाना उत्पादन लागत करिब १५ प्रतिशत वृद्धि भएको उद्योग क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।

संघले विगत एक वर्षमा गाईभैँसी, कुखुरा, बंगुरलगायत विभिन्न पशुपन्छीका दानाको मूल्य कति प्रतिशतले बढेको हो भन्ने आधिकारिक तथ्यांक संकलन गरी सार्वजनिक गर्न माग गरेको छ।

त्यस्तै दाना उत्पादनमा प्रयोग हुने कच्चापदार्थको वास्तविक खरिद मूल्य, आयात खर्च, ढुवानी, उत्पादन तथा सञ्चालन लागत र उद्योगको उचित मुनाफाका आधारमा पारदर्शी एवं वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने संघको माग छ।

संघले दानामा प्रयोग हुने मकै, भटमासको पिना, ढुटो तथा अन्य कच्चापदार्थमा ढुसी, अफ्लाटक्सिन, हानिकारक रासायनिक पदार्थ र एन्टिबायोटिकको अनधिकृत प्रयोग भए-नभएको नियमित प्रयोगशाला परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी स्वदेशी दाना उद्योगलाई आवश्यक सहुलियत, अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने र उद्योगको लागतवृद्धिको सम्पूर्ण भार किसानमाथि थोपर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने संघको माग छ।

संघले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विभाग, दाना उद्योग, किसान प्रतिनिधि, सहकारी क्षेत्र, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग तथा विज्ञहरूको सहभागितामा तत्काल छलफल आयोजना गरी दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ।

नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारीले उद्योगीले लगानीको उचित प्रतिफल पाउनुपर्ने र किसानले पनि उत्पादन लागत धान्न सक्ने वातावरण बन्नुपर्ने बताउँदै दानाको मूल्य निर्धारणको सम्पूर्ण भार किसानमाथि पर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

संघले दाना उद्योगको संरक्षण, किसानको लगानी सुरक्षा र स्वदेशी पशुपन्छीजन्य उत्पादन वृद्धि गर्न पशु आहारको मूल्य, गुणस्तर र बजार व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन सरकारसँग आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी