काठमाडौं - इजिप्टको राजधानी कायरोस्थित एक व्यस्त राजमार्गमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना भई भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्। बुधबार साँझ पुरानो सहरको उत्तरी भागमा पर्ने वाराक क्षेत्रको रिङरोड खण्डमा उक्त दुर्घटना भएको हो।
घटनालगत्तै जलेका तथा धुवाँले निस्सासिएका घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको थियो। आगलागी कसरी शुरू भयो भन्नेबारे अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक नगरे पनि ट्याङ्कर पल्टिएर नजिकैका सवारी साधनहरूमा पेट्रोल पोखिएपछि आगो सल्किएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारी पत्रिका अल–अहरामले अनुसन्धानसम्बद्ध स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार निजी ठेकेदारको उक्त ट्याङ्कर राजमार्गमा गुडिरहेको बेला अगाडि अचानक उच्च भोल्टेजको बिजुलीको तार खसेपछि चालकले नियन्त्रण गुमाएका थिए। त्यसपछि ट्याङ्कर बीचको डिभाइडर (सेन्ट्रल रिजर्भेसन) नाघेर पल्टिएको र तत्कालै आगो लागेको पत्रिकाले उल्लेख गरेको छ।
उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी प्रसारक संस्था एनएमएका अनुसार आपतकालीन उद्धार टोलीले जलेका सवारी साधनका भग्नावशेषहरू बुलडोजरको सहायताले हटाएर राजमार्ग सफा गरिसकेको छ र हाल यातायात पुनः सुचारु भइसकेको छ।