तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायी निराश, सरकारसँग उच्चस्तरीय पहलको माग

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायी निराश, सरकारसँग उच्चस्तरीय पहलको माग

सिन्धुपाल्चोक - नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो। 

तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले नाका चाँडो खुलाउन सरकारसँग माग गरेका छन्।  

लामो समयसम्म नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक मार्ग सञ्चालनमा नआउँदा व्यवसायीहरू पेसाबाटै पलायन हुनुपरेको उनीहरूको भनाइ छ।

विसं २०७२ सालको भूकम्पयता पटकपटक बन्द हुँदै आएको तातोपानी नाका नियमित सञ्चालनमा चीनले चासो नदेखाएको भन्दै सिन्धुपाल्चोकका व्यापारी तथा जनप्रतिनिधिले सरकारले बेइजिङसँग स्पष्ट जवाफ माग्न ढिला गर्न नहुने राय व्यक्त गरेका छन्।

“व्यापारी र व्यवसायीले आशा मारिसकेका छन्। उनीहरू पूर्ण रूपमा निराश भइसकेका छन्”, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले भने, “अब  सरकारले नाका खोल्न उच्चस्तरीय पहलकदमी नलिने हो भो व्यवसायीले यो नाकाबाट व्यवसाय गर्न सक्ने छैनन्।” 

कार्यक्रममा व्यवसायी, स्थानीय तहका प्रतिनिधि र स्थानीयबीच नाका अवरुद्ध हुनुका कारण, व्यापारीले भोग्नुपरेको सास्ती र आगामी कार्यदिशाबारे बहस भएको थियो। 

तातोपानी नाकाका लागि लोड गरिएको सामान नाकामा आइपुग्ने बेलामा एक्कासी बन्द हुने गरेको नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताए।

बाध्य भएर केरुङतर्फ सामान पठाउँदा त्यहाँ पनि अर्कै समस्या आउने र पुनः अन्तै मोड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो। 

खबरपाटी
खबरपाटी