भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ के हो र कसरी मनाउने ?’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले दसैँलाई हिन्दू धर्मावलम्बीको पर्वमा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभयो । दसैँ नेपालको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको पर्व भएको उहाँंले उल्लेख गर्नुभयो । श्रेष्ठले दसैँको ऐतिहासिकता र सांस्कृतिक महत्व रहेको बताउनुभयो । उहाँंले यसको महत्वलाई धार्मिक सीमाभन्दा व्यापक रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा दसैँ धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलन, सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्याससँग जोडिएको पर्वका रूपमा विकसित भएको उहाँले बताउनुभयो । यद्यपि, यसको राष्ट्रिय स्वरूप र विभिन्न समुदायसँगको सम्बन्धलाई एउटै धार्मिक दृष्टिकोणबाट मात्र व्याख्या गर्न नसकिने विषयमा पनि अध्ययन तथा बहस हुँदै आएको उहाँंको भनाई छ ।
श्रेष्ठले दसैँ भारतबाट आएको पर्व हो भन्ने मान्यता गलत रहेको बताउनुहुँदै यसको ऐतिहासिक पृष्ठभूमि र नेपाली समाजमा विकसित मौलिक परम्पराको अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो । उहाले दसैँलाई करिब दुई हजार वर्ष पुरानो संस्कृतिका रूपमा व्याख्या गर्दै यसको ऐतिहासिकता बुझ्न धार्मिक मान्यतासँगै समाजको सांस्कृतिक विकासक्रमलाई पनि हेर्नुपर्ने बताउनुभयो ।
उहाले दसैँलाई राष्ट्रिय सुरक्षा दिवसका रूपमा समेत बुझ्नुपर्ने धारणा राख्नुभयो । यसले दसैँको परम्परागत धार्मिक पक्षसँगै राज्य, राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको ऐतिहासिक पक्षलाई पनि स्मरण गराउने उहाको भनाइ थियो । श्रेष्ठको विचारमा संस्कृति कुनै समाजको चाडपर्व र रीतिरिवाजमा मात्र सीमित हुँदैन । संस्कृति नै समाजको पहिचान र निरन्तरताको आधार हो । संस्कृतिको संरक्षण र निरन्तरता कायम रहन नसके देशको मौलिक पहिचानसमेत कमजोर हुँदै जाने भएकाले सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उहाले बताउनुभयो ।
दसैँलाई केवल टीका, जमरा, खानपिन र पारिवारिक भेटघाटका रूपमा मात्र बुझ्दा यसको गहिरो ऐतिहासिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने उहाको विचार थियो । त्यसैले नयाँ पुस्तालाई दसैँको परम्परा, यसको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्ने आवश्यकता उहाले औँल्याउनुभयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी, संघका केन्द्रीय सदस्य प्रेमध्वज लामा, संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासुलगायतले पनि दसैँको सामाजिक महत्व, सांस्कृतिक मौलिकता र आपसी सद्भावबारे धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकार, नेवा पत्रकार राष्टिय दवू भक्तपुरका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल), स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य सुरेश सैंजू, संघका उपाध्यक्ष मणिराम लामिछाने, सहसचिव राजन कार्की, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगानालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वतन्त्र पत्रकार संघ, भक्तपुरको आयोजनामा सम्पन्न कार्यक्रममा दसैँको ऐतिहासिक तथा सांस्कृतिक पक्षमाथि छलफल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो।
दसैँको उत्पत्ति र ऐतिहासिक विकासक्रमबारे इतिहासकारहरूबीच विभिन्न व्याख्या पाइन्छन् । इतिहासकार महेशराज पन्तले नेपालमा दसैँ मनाइएको लिखित प्रमाण कम्तीमा सन् १३७५ सम्म पछ्याउन सकिने उल्लेख गर्नुभएको छ । यसले दसैँको ऐतिहासिकता अध्ययन गर्दा मौखिक परम्परा, धार्मिक ग्रन्थ, अभिलेख र लिखित प्रमाणलाई छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने देखाउँछ ।