काठमाडौँ - नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
क्यानका सचिव पारस खड्काका अनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए। काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै क्यान सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिए।
यद्यपि प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उनले प्रष्ट पारे। डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुनसक्ने देखिएको बताए।
हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे शुरु गर्ने योजना रहे पनि डबल हेडर (एकै दिन दुई खेल हुने) दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताए।
म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ सम्म पुग्न सक्ने आँकलन गरिएको छ।
चिसो मौसम र शीतको प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ। डीआरएस प्रविधि जडानका लागि लाग्ने करिब डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ।
कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ। जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ।
क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ।