भारतमा सोसल मिडिया सेन्सरसिप बढेको कांग्रेसको आरोप

भारतमा सोसल मिडिया सेन्सरसिप बढेको कांग्रेसको आरोप

काठमाडौं – भारतको मुख्य विपक्षी दल कांग्रेसले केन्द्र सरकारले सोसल मिडियामा सेन्सरसिप लागु गरिरहेको बताएको छ। सरकारको आलोचना गर्ने सोसल मिडिया पोस्टहरूलाई इन्टरनेटबाट हटाउन लगाएको कांग्रेसको आरोप छ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, “मोदी सरकारले प्रत्येक भारतीयको बोल्ने, प्रश्न गर्ने र असहमति जनाउने लोकतान्त्रिक अधिकारमाथि सबैभन्दा दुस्साहसपूर्ण र योजनाबद्ध प्रहार गरेको छ।”

कांग्रेसले ‘इन्डियन एक्सप्रेस’ पत्रिकाको एक रिपोर्टलाई उद्धृत गर्दै सोसल मिडियाबाट सरकारसँग प्रश्न सोधिएका सामग्रीहरू हटाइएको दाबी गरेको छ। इन्डियन एक्सप्रेसको उक्त रिपोर्टअनुसार मार्चदेखि जुलाई २०२६ को बीचमा सरकारका तर्फबाट इन्स्टाग्राम, फेसबुक र युट्युबलाई एक लाख ९८ हजार अर्थात्, दैनिक औसतमा एक हजार २७५ र हरेक ६८ सेकेन्डमा एउटा सामग्री हटाउने आदेश पठाइएको थियो।

कांग्रेस अध्यक्ष खर्गेले लेखेका छन्, ‘सोसल मिडियामा लगाइएको यो सेन्सरसिप त्यति नै निन्दनीय छ, जति हाम्रा युवामाथि गरिएको लाठीचार्ज र पेलेट गनबाट गरिएका आक्रमणहरू निन्दनीय छन्।’ उनले ब्लकिङ अर्डरहरू अपराधीहरूविरुद्ध नभई विद्यार्थी र युवा भारतीयहरूविरुद्ध रहेको बताए। 

खर्गेले मोदी सरकारले सोसल मिडिया प्लेटफर्महरूका लागि कन्टेन्ट हटाउने समय घटाएर तीन घण्टामा सीमित गरिदिएको बताएका छन्। उनले भनेका छन्, ‘स्वचालित सेन्सरसिप यति धेरै बढेको छ कि कुनै आवाजलाई चुप गराउनुअघि कुनै मानिसले त्यो आदेशलाई पढ्दा पनि पढ्दैन।’

कांग्रेसले आफ्नो एक्स एकाउन्टमा भारतजस्तो लोकतान्त्रिक देशमा यसो गर्नु संविधानसँगै अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सीधा प्रहार भएको उल्लेख गरेको छ।

खबरपाटी
खबरपाटी