वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको पहल, १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी

वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको पहल, १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी

काठमाडौं - वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पहल अघि बढाएकी छन्। मन्त्रालयले कारखानाको वर्तमान अवस्था, सञ्चालन सम्भाव्यता तथा आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरेको छ।

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलले कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्नुका साथै विगतका निर्णय र प्रतिवेदनहरूको समीक्षा गर्नेछ।
त्यसैगरी कारखानाका भवन, मेसिनरी, उपकरण तथा अन्य संरचनाको अवस्था मूल्याङ्कन गरी पुराना संरचना प्रयोग गर्न सकिने वा नयाँ प्रविधि आवश्यक पर्ने विषयमा पनि अध्ययन गरिनेछ। कारखानाको स्वामित्वमा रहेको जग्गा तथा अन्य सम्पत्तिको अवस्था र त्यससँग सम्बन्धित कानुनी तथा व्यवस्थापकीय समस्याको समेत पहिचान गरिनेछ।

सरकारले यसपटक कारखाना सञ्चालनको विषयलाई केवल घोषणामा सीमित नराखी सम्पत्ति, मेसिनरी, वित्तीय अवस्था, कानुनी जटिलता र सञ्चालनको सम्भाव्यतालाई समेटेर समग्र अध्ययनमार्फत निष्कर्षमा पुर्‍याउने प्रयास गरेको जनाएको छ।

खबरपाटी
खबरपाटी