नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । 

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो ।

नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । 

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । 

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । 

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो । 

खबरपाटी
खबरपाटी